कर्णाली एक्सपो महोत्सवको सम्पुर्ण तयारी पुरा,उपप्रधानमन्त्री खड्काले उद्घाटन गर्ने


वीरेन्द्रनगरमा फागुन १४ गतेबाट सञ्चालन हुन लागेको तेस्रो कर्णाली एक्सपोको सम्पुर्ण तयारी पुरा भएको छ। प्रदेश रंगशालाको उत्तरतर्फको मैदानमा सञ्चालन हुन लागेको महोत्सवको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले गर्ने जनाइएको छ ।

कर्णालीका रैथाने बालीको प्रवद्र्धन र सम्वद्र्धन तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा उद्यमीका उत्पादनलाई विशेष स्थान दिइ प्रर्दशन गरिने सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए ।

महोत्सव स्थलमा अहिले पाँच सय स्टल निर्माण भएका छन् । कर्णाली प्रदेश उद्योग, पर्यटन, जडीबुटीलगायत अन्य स्रोत तथा साधनहरूको प्रचार–प्रसार गरिने, पर्यटकीय क्षेत्रहरूको प्रचार गर्ने, कर्णालीको रैथाने बालीको व्यावसायिक खेती तथा प्रचार–प्रसार, औषधिजन्य जडीबुटीको पहिचान, खेती र बजारीकरण, खनिजहरूको खोजतलास, तथा व्यापारिकरण गर्न यस मेलाले सहयोग पु¥याउने विश्वास लिएको कँडेलले बताए ।

साथै, महोत्सव प्रवेश गर्ने मुख्य गेटमा कर्णालीकै प्रमुख धार्मिक पर्यटकीय स्थल देउती बज्यैको प्रतिमा निर्माण गरिएको छ। साथै, महोत्सवमा सेल्फी प्वाइन्टहरु राखिएको छ । महोत्सवमा स्थानीय कलाकारसँगै राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको सहभागी रहने संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *