नेपालगन्ज : खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा आज शुक्रबारदेखि अन्तर विद्यालय तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ । खजुरा गाउँपालिका वडा नं. ४ स्थित जनकल्याण मावि बद्रीपुरमा भइरहेको प्रतियोगिताको लुम्बिनी प्रदेश सांसद बाबुराम गौतमले एक भब्य समारोहका वीच उदघाटन गरे ।
सांसद गौतमले खेलले आत्मनिर्भर, स्वावलम्बन र अनुशासनको विकास गर्ने बताए । उनले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने खेलाडी उत्पादन र त्यसको पहलिो जग रनिङ शिल्ड भएको उल्लेख गरे । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले तीन वर्षको दौरानमा रनिङ शिल्ड प्रतियोगितामा खजुरा क्षेत्रका विद्यालय र विद्यार्थीको उत्साहजनक सहभागिता रहेको बताए । उनले विद्यार्थीको सर्वाङ्गीण विकासमा ध्यान दिँदै खेल र शैक्षिक महोत्सव गरिँदै आएको बताए । अध्यक्ष कक्षपतिले खजुरामा खेल संरचना, खेलाडी उत्पादन र खेलाडीवीचको प्रतिस्पर्धामार्फत खेल विकास गरी खजुरालाई खेलकुद हबका रुपमा समेत विकास गरिने बताए ।
स्वागत मन्तव्य दिँदै शिक्षा समिति सदस्य भक्तबहादुर केसीले तेस्रो वर्षसम्म आइपुग्दा प्रतियोगिता स्थापित भएको र विद्यार्थीमा खेलकुदको विकास हुँदै गएको उल्लेख गरे । कार्यक्रममा स्वागत गीत, झाँकी र नृत्यमार्फत अतिथिलाई स्वागत गर्नुका साथै सहभागी विद्यालयका विद्यार्थीले मार्चपास गरि सलामी अर्पण गर्दा कार्यक्रमको मूख्य आकर्षण बनेको थियो ।
उदघाटन समारोहमा धन्यवाद ज्ञापन गर्दै संचालन तथा व्यवस्थापन विद्यालय जनकल्याण माविका प्रधानाध्यापक भीमबहादुर थापाले कार्यक्रम सफल बनाउन आआफ्नो तप्काबाट लाग्ने सबैलाई धन्यवाद दिए । शुक्रबार नै एथलेटिक्स, भलिबल लगायतका विभिन्न खेल संचालन गरिएको छ । प्रतियोगितामा खजुरा क्षेत्रका संस्थागत, निजी र मदरसा गरी ६५ विद्यालयका ४७५ छात्रा र ५४१ छात्र गरी १ हजार १६ जना खेलाडी सहभागी छन् ।
यो प्रतियोगितामा माध्यमिक तह (कक्षा ९ १२) र आधारभूत तह (कक्षा ६८) गरी दुई ओटा रनिङ शिल्डका लागि प्रतिष्पर्धा हुनेछ भने आधारभूत तह (कक्षा १५) का लागि सहायक खेलहरु खेलाइने छ । मा.वि तर्फ एथलेटिक्स,भलिवल,कपड्डी र मार्शल आर्ट (जुडो) खेलका १६ इभेन्ट्स,आधारभूत तह कक्षा ६८ तर्फ एथलेटिक्सका १० इभेन्ट्स र आधारभूत तह कक्षा १५ तर्फ,४ह५० मि.रिले,१०० मि.दौड,चम्चा दौड ३० मि. र कुर्सी दौड खेलका ५ इभेन्ट्स गरी जम्मा ३१ ओटा खेलहरु राखिएका छन् । गत संस्करण्मा जम्मा ६४ इभेन्ट्स समेटिएका थिए तर यस वर्ष कोभिड १९ को विषम परिस्थितिका कारण ३ दिनमा जम्मा ३१ खेल मात्र खेलाइने छ । यो खेललाई जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकूदको छनौट खेलको रुपमा लिइएको छ ।
