७ महिनामा ८ खर्ब ३९ अर्ब रेमिट्यान्स भित्रियाे


चालु आर्थिक वर्षको पहिलो सात महिनामा देशको अर्थतन्त्रका धेरैजसो सूचकहरू सकारात्मक देखिएका छन् । राष्ट्र बैंकले आज सार्वजनिक गरेकाे साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिएका हुन् ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा आठ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स गएको वर्षको त्यही अवधिको तुलनामा २१ दशमलव १६ प्रतिशतले बढेको हो । रेमिट्यान्स बढे पनि श्रम स्वीकृति लिनेको सङ्ख्या भने घटेको छ ।

साउनदेखि माघ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या दुई लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ५८ हजार पाँच सय ४० रहेको छ । गएको वर्षको त्यही अवधिमा तीन लाख १४ हजार सात सय ६७ जनाले अन्तिम श्रम स्वीकृति र एक लाख ६७ हजार सात सय आठ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

साउनदेखि माघ मसान्तसम्मको सात महिनामै विदेशी मुद्रा सञ्चिति झन्डै २० प्रतिशतले बढेको छ । गएको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी मुद्रा सञ्चिति माघ मसान्तमा आउँदा १९ दशमलव नाै प्रतिशतले बढेर १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो सञ्चितिले देशका लागि एक वर्षभन्दा बढीलाई वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

यसैबीच माघ महिनामा उपभोक्ता मूल्यवृद्धि पाँच दशमलव शून्य एक प्रतिशतमा झरेको छ । गएको वर्षको माघ महिनामा उपभोक्ता मूल्यवृद्धि सात दशमलव ८८ प्रतिशत रहेकोमा यो माघ महिनामा दुई दशमलव ८७ प्रतिशतले घटेर सात दशमलव ८८ प्रतिशतमा झरेको हो ।

सात महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक मूल्यवृद्धि ३२ दशमलव ११ प्रतिशत, दाल तथा गेडागुडीको ११ दशमलव १५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १० दशमलव ७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नाै दशमलव शून्य छ प्रतिशत र तरकारीको सात दशमलव ५८ प्रतिशतले बढेको छ ।

सात महिनाको अवधिमा आयात दुई दशमलव तीन, निर्यात सात दशमलव एक र कुल वस्तु व्यापार घाटा एक दशमलव आठ प्रतिशतले घटेको छ ।

त्यसैगरी शोधनान्तर स्थिति दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा रहेको छ । फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन सात प्रतिशतले बढेको छ ।

त्यस्तै निजी क्षेत्रमा प्रवाहित कर्जा चार दशमलव एक प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४ दशमलव चार प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर चार दशमलव सात प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *