कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–६, को हटियालाइन, हङकङ बजार र गोदामलाइन क्षेत्रमा नगरपालिकाको डोजर चलेपछि अवस्था तनावग्रस्त बनेको छ । सार्वजनिक जमिनमा सटर लगाई बसेका व्यवसायीहरुको सटरमा डोजर चल्न थालेपछि व्यवसायीहरुले ढुङ्गामुढा प्रहार गरेका हुन् । नगरपालिकाले सुरुमा हटियालाइनतर्फबाट डोजर चलाउन सुरु गरेको थियो ।
सुरुको पसलमा डोजर चलाएपछि व्यापारीहरुले डोजरमाथि ढुङ्गामुढा प्रहार गरेका हुन् । व्यवसायीको ढुङ्गा प्रहारबाट नगरपालिकाको डोजरको सिसा पूर्ण रुपमा फुटेको छ भने चालक लगायतका तीन जना सामान्य घाइते भएका हुन् ।
नगरपालिकाले सार्वजनिक सूचना निकालेर संरचना भत्काउन अनुरोध गरे पनि व्यवसायीहरूले अटेर गरेपछि आफैँले डोजर चलाउन सुरु गरेको हो । सनिबारदेखि व्यवसायीहरु आर्थिक मन्दीका बिचमा कुनै विकल्प नदिएको भन्दै आन्दोलनमा थिए । तर, नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल जसरी भएपनि जग्गा खाली गराइछाड्ने अडानमा थिइन् ।
आज बिहानैदेखि नगरपालिकाले डोजर लगायत कर्मचारी तयारी अवस्थामा राखेपछि व्यवसायीहरु सामान उठाउन थालिरहेका थिए । डोजर चल्नुपुर्व पनि केही समय सामान उठाउन दिन आग्रह गरिरहेका थिए । तर, डोजर चलाउन सुरु गरेपछि प्रतिकारमा उत्रिएका छन् ।नगरले अहिले हटाउन थालेको स्थानमा १२५ जना साना व्यवसायीहरूले व्यापार गरिरहेको छन् । यता नगरप्रमुख मोहनमाया ढकालले सिडिओसँग कोडिनेशन गरिरहेको बताइन् ।
