प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो वैशाख १६ र १७ गते हुन लागेको लगानी सम्मेलन सफल बनाउन नेपालमा रहेका कुटनीतिक नियोग र विकास साझेदारसमक्ष आग्रह गर्नुभएको छ ।
सिंहदरबारमा आज आयोजित नेपालमा रहेका कुटनीतिक नियोग एवम् विकास साझेदारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदार र नेपालमा रहेका सबै देशका कुटनीतिक नियोगको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।
सङ्घीय सरकारका मन्त्रालयसँगै प्रादेशिक र स्थानीय सरकारका परियोजनालाई समान प्राथमिकतामा राखिएको जानकारी गराउँदै उहाँले लगानीमैत्री वातावरण बनाउन कानुन परिमार्जन, प्रक्रियागत सुधार गर्न र परियोजना अवधिभर लगानीकर्तालाई अवरोध हुन नदिने वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
उहाँले विद्यमान र सम्भावित लगानीकर्तालाई आवश्यक पर्ने कुनै पनि सहयोग उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभयो । विभिन्न क्षेत्रमा विदेशी तथा स्वदेशी निजी लगानी आकर्षित गर्न सम्मेलन आयोजना गर्न लागेको प्रधानमन्त्रीको भनाइ थियो ।
