राष्ट्रियहितलाई सर्वोपरि ठानेर नीति तथा कार्यक्रम आउँछ : अध्यक्ष ओली


नेपाल कम्युनिष्ट पार्टी .(एमाले) का अध्यक्ष ओलीले राष्ट्रियहितलाई सर्वोपरि परी ठानेर सरकारले नीति तथा कार्यक्रम ल्याउने बताएका छन्।

नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिहरूसँग आज भएको छलफलमा अध्यक्ष ओलीले निजी क्षेत्रको समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले जानकारी दिए।

त्यसअवसरमा उद्योगी व्यवसायीको मनोबल बढाउनेगरी आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सहजजीकरण गरिदिन अध्यक्ष ओलीलाई आग्रह गरेको पनि उनले बताए। अर्थतन्त्र शिथिलताबाट गुज्रिरहेको भन्दै त्यसलाई उकास्नेगरी सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउन सहजीकरणका लागि आग्रह गरिएको अध्यक्ष अग्रवालले जानकारी दिए।

अर्थतन्त्रमा आएको मन्दीले निजी क्षेत्रको सम्पत्तिमा ५० प्रतिशतसम्म गिरावट आएकाले शिथिल अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन आर्थिक र वित्तीय नीतिमा सहजीकरण गर्नुपर्नेबारे छलफल गरिएको उनले बताए।

वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान एवम् निजी क्षेत्रको मनोवल उकास्नुपर्ने बेला आएको अग्रवालको भनाइ छ।

अध्यक्ष अग्रवालले सहकारी क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि पनि अविलम्व पहल गर्न अध्यक्ष ओलीसमक्ष आग्रह गरिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *