सरकारले प्रमुख प्रतिपक्षलाई पेलेरै सदन अघि बढाएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको दुबै बैठक नेपाली कांग्रेसको नाराबाजी र वेल घेराउका बीच कार्यसूचीमा प्रवेश गरे। प्रतिनिधिसभामा सभामुखले बैठक सुरु गर्नेबित्तिकै कांग्रेस सांसदहरूले उठेर विरोध गरे। सभामुखले कांग्रेस सहमहामन्त्रीसमेत रहेका बद्री पाण्डेलाई पाँच मिनेटमा आफ्नो कुरा राख्न समय दिए। पाण्डेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने आइतबारको बैठकमा आफ्नो पार्टीका उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापामाथि गम्भीर लाञ्छना लगाएको भन्दै नामै किटेर छानबिन समिति बनाउन सरकारलाई चुनौती दिए ।
‘हाम्रो पार्टीका उपसभापति र महामन्त्रीमाथि जसरी उहाँले लाञ्छना लगाउनुभएको छ, म सरकार र गृहमन्त्रीलाई चुनौती दिन चाहन्छु। के कस्तो खालको टीओआर बनाउनु पर्ने हो बनाउनुस्,’ उनले भने, ‘हाम्रा उपसभापति र महामन्त्रीको नामै किटेर टीओआरमा लेख्नुपर्ने हो कि व्यक्तिको लेख्नु पर्ने हो कि कांग्रेसको लेख्नु पर्ने हो, लेख्नुस्। छानबिनको समय पनि तोक्नुस् ।’
उनले उस्तै खालको विषयमा राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै गृहमन्त्री विरुद्ध पनि पक्राउ पुर्जी जारी हुनुपर्ने माग गरे।
पाण्डेले संसदीय समिति गठन नभएसम्म आफूहरूको अवरोध जारी राख्ने जानकारी गराए। त्यसपछि कांग्रेस सांसदहरू उठेर विरोध गरे। सभामुखले कार्यसूची अघि बढाउन खोजेपछि उनीहरू नाराबाजी गर्दै वेल घेराउ गर्न पुगे। होहल्ला र नाराबाजीकै बीच सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नीति तथा कार्यक्रम टेबुल गर्न समय दिए।
