सुर्खेतमा पोलियो रोग विरुद्धको आइपिभि खोप अभियान सञ्चालन हुने भएको छ । जेठ १३ अर्थात भोलीबाट २६ गतेसम्म जिल्ला भरमा खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । यस सम्बन्धमा छलफलका लागि शनिबार जिल्ला खोप समन्वय समितिको बैठक बसेको थियो । उक्त बैठकले खोप अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । यो खोप २०७३ को वैशाख देखि २०७५ को असोजसम्म जन्मिएका बालबालिकालाई मात्र लगाइने छ ।
सुर्खेतका ३ सय ५१ खोपकेन्द्रबाट २३ हजार बालबालिकालाई ओपिभी खोप लगाईदै छ । पालिका अनुसार दुई चरणमा लगाईने यो खोप विद्यालयबाट दिईने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए । २०७१ सालदेखि नेपालमा पोलियो रोग विरुद्ध खोप दिन थालिएको हो । युनिसेफका प्रतिनिधी सिताराम रिमालका अनुसार देशभर १४ लाख ६२ हजार बालबालिकालाई यो अभियान अर्न्तगत खोप लगाईदैछ ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख गंगाराम सुनारको अध्यक्षतामा भएको कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल,जिल्ला सहायक अधिकारी, सुर्खेत सुउवासका अध्यक्ष लक्ष्मण कंडेल, जनस्वाथ्य कार्यालयको प्रमुख, लगायतको उपस्थिति रहेको थियो ।
खोप लगाउँदा सामान्य किसिमका लक्षणहरु देखिन सक्ने भन्दै त्यसबाट हतोत्साहित नहुन जनस्वास्थ्य सेवा कार्यालयले नागरिकलाई अपिल गरेको छ । कार्यालयका अनुसार खोप लगाएको ठाउँमा रातो देखिने, ज्वरो आउने जस्ता सामान्य लक्षण देखिने गर्छन् ।
नेपालले सन् २०१४ मै पोलियो मुक्त राष्ट्रको रूपमा प्रमाणपत्र पाइसकेको छ । तर दक्षिण एसियाली मुलुकहरू पाकिस्तान र अफगानिस्तानमा अहिले पनि पोलियो केश देखिएका कारण नेपालमा जोखिम कायमै रहेकोले खोप अभियान सञ्चालन गर्न लागेको हो । नेपालमा पोलियाका बिरामी पछिल्लो पटक २०६७ मा असोज १४ गते देखिए यता नेपालमा पोलियाका बिरामी भेटिएका छैनन् । ओपिभि खोप नियमित खोप सेवाको माध्यमबाट छ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा लगाउनु पर्ने हुन्छ । यस्तै आईपीभी खोप १४ हप्ता र ९ महिनाको उमेरमा लगाउनु पर्छ ।
