माधव नेपाल पक्षलाई अध्यक्ष ओलीको चेतावनी : पार्टीलाई धम्क्याएर, घुर्काएर, ठेगान लगाउछु भन्ने नसोचे हुन्छ


फाइल फोटो

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षको राष्ट्रिय कार्याकर्ता भेला पार्टीविरोधी रहेको भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन नेता कार्याकर्तालाई अपिल गर्नुभएको छ । उहाले त्यस्ता गतिविधिमा संलग्न हुनेलाई संविधान, कानून र पार्टीको विधान बमोजिम हुने चेतावनी समेत दिनुभयो ।

प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित पार्टीको चियापान कार्यक्रममा उपस्थित केन्द्रीय सदस्य तथा सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बुधवारबाट हुने भनिएको सो पक्षको भेलामा एक नजर रहने स्पष्ट पार्नुभयो । ‘यस पार्टीमा अब उप्रान्त विधि विधानविरोधी क्रियाकलापमा छुट हुने अवस्था हुँदैन । अब सहेर बस्दैनौँ । अचाक्ली भयो’, उहाले भन्नुभयो, ‘पार्टीमा विधान छ, नियमावली र दल सम्बन्धी कानुन छ । हामीले खोजेको अनुशासन हो । भोलिको गुटगत भेलामा सरिक नहुन, नजान र सहभागी नबन्न म सबै नेता कार्यकर्तालाई सचेत गराउँछु । अझै केही समय बाँकी छ । भोलिको भेला गर्नुहुन्छ कि गर्नुहुन्न त्यो तमासा हेर्न बाँकी छ । भोलि एक नजर त्यता लगाइनेछ ।’

अध्यक्ष ओलीले अब एमालेमा जंगली राज र भाँडभैलो स्वीकार्य नहुने चेतावनी दिनुभयो । एमालेमा कसैमाथि अन्याय नहुने र विधि पद्धतिका नाममा बाटोबाटै अध्यक्ष र संसदीय दलको नेता हटायौं भन्ने छुट पनि नहुने ओलीले बताउनु भयो ।

उहाले प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि हुनेतर्फ घटनाक्रमहरू गइरहेको बताउनु भयो । ‘प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि हुनेतिर जाँदैछ । मुद्दा लडेर ल्याएको संसद् आफैँले चल्न नदिने, आफैँ व्यवधान खडा गर्ने स्थिति बन्यो । पहिलो दिन नै अध्यादेशहरू पेश गर्न दिइएन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अधिवेशन प्रारम्भ भएको पहिलो बैठकमै अध्यादेश पेश हुनुपर्छ, अर्थात संविधान कार्यान्वयन गर्न व्यवधान खडा गरियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *