प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
सभाध्यक्षको भूमिकामा रहेकी उपसभामुख इन्दिरा रानाले सो प्रस्तावलाई निर्णयार्थ पेस गर्दा बहुमतले पारित गरेको हो । कांग्रेस, राप्रपा, जसपा नेपाल लगायतका साना दल बजेटको विपक्षमा रहे । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ ।
सरकारले गत जेठ १५ गते संघीय संसद्को दुवै सदनमा बजेट पेस गरेको थियो । बजेट पेस भएपछि दुवै सदनमा बजेटमाथि झन्डै १ महिना छलफल भएको थियो । छलफलका क्रममा विपक्षी दल मात्र नभई सत्ता घटक दलका सांसदहरूले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि व्यक्त गरे ।
बजेटमाथि छलफल गर्ने क्रममा कांग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री प्रकाश शरण महतले आफ्नो निर्वाचन क्षेत्रका नेपाल चीन जोड्ने रणनीतिक महत्वका सडकमा आफूप्रति पूर्वाग्रह राखेर बजेट नदिइएको गुनासो गरेका थिए । यस्तै कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले सरकारले ल्याएको बजेटको भोली कांग्रेस सरकारमा गए काँध थाप्ने अवस्था आउन सक्ने भएकोले खुलेर आलोचना गर्न नसक्ने तर अर्थमन्त्रीलाई बजेटका कमजोरीमाथि प्रश्न गर्न सकिने भन्दै विभिन्न प्रश्नहरू राखेका थिए ।
यता कांग्रेसकै सांसद दिलेन्द्रप्रसाद बडूले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको बजेट झापा र धनुषामा थुपारिएको तर दार्चुलाको तिंकर छाङ्रु लगायतका दुर्गम र भारतीय बाटो प्रयोग गर्नुपर्ने अवस्था रहेको क्षेत्रमा बजेट नदिएकोमा गुनासो व्यक्त गरेका थिए ।
