मापदण्ड पुगेका व्यक्तिलाई विधि पुर्‍याएर मात्रै राजदूतमा नियुक्त गरिएको हाे : प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मापदण्ड पुगेका व्यक्तिलाई विधि पुर्‍याएर मात्रै राजदूतमा नियुक्त गरिएको जिकिर गर्नुभएको छ ।

विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवम् मातहतका निकायहरूका लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राजनीति र व्यावसायिकताको सन्तुलनका लागि कम्तीमा पनि ५० प्रतिशत राजदूतहरू परराष्ट्र सेवाबाटै नियुक्त गर्ने नीतिलाई निरन्तरता दिइएको बताउनुभयो । उहाँले देशको हित र कूटनीतिलाई बलियाे बनाउन वस्तुगत आधारमा राजदूतहरूको मूल्याङ्कन गरी व्यवस्थापन गर्ने नीति अवलम्बन गरिएको दाबी पनि गर्नुभयो ।

यस्तै उहाँले मेरिटको आधारमा व्यक्तिको नाम दिन आग्रह गरेको भन्दै आएको नामलाई नियुक्त गरेको तर कमजोरी भएको भए सच्याउने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाई नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी, दक्षतामा र कार्यसम्पादनमा आधारित बनाउने विश्वास व्यक्त गर्नुभयो । सरकारले आवश्यक ठानेमा राजदूतलाई पदावधि पूरा हुनुअघि नै निर्णय गरी फिर्ता बोलाउन सक्ने प्रावधान रहेको पनि उहाँले स्मरण गराउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *