पछिल्लो २४ घण्टामा विपत्तिमा परेर १० जनाको मृत्यु, तीन घाइते


विपदमा परेर पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। गुल्मी, बागलुङ र स्याङ्जामा पहिरोमा पुरिएर ९ जनाको र चट्याङ लागेर दाङमा एक जनाको मृत्यु भएको हो।

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ बुलेटिन जारी गरी उक्त जानकारी दिएको हो। गुल्मीमा गएराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको थियो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी निरीक्षक सूर्यभान चौधरीका अनुसार मृत्यु हुनेमा ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र दुई वर्षीया विपना रहेका छन्।

यस्तै बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा पहिरोले घर पुरिँदा स्थानीय ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्तीको मृत्यु भएको छ। पहिरोमा पुरिएका दुई जनालाई घाइते अवस्थामा उद्दार गरिएको गल्कोट नगरपालिकाका प्रमुख भरत शर्माले जानकारी दिए।

उता स्याङ्जामा पहिरोले घर पुरिँदा आमाछोरीको मृत्यु भएको छ। फेदीखोला गाउँपालिका–५ मा गएराति साढे ११ बजे आएको पहिरोले घर पुरिँदा ३१ वर्षिया दुर्गा जिटी र उनकी ३ वर्षीया छोरी निकिसाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी इन्द्रबहादुर राणाले जानकारी दिए।

दाङको राजपुर गाउँपालिका–२ मटेरीयाकी ३९ वर्षीया भूमिसरा बुढामगरको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

खेतमा काम गरिरहेको अवस्थामा चट्याङमा लागेर घाइते भएकी उनको उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। चट्याङ लागेर तुलसीपुर १९ छिल्लीकोटका ३६ वर्षीय दुर्गाबहादुर विक घाइते भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *