महालेखापरीक्षकको कार्यालयको आव ०७९/८० को लेखापरीक्षण प्रतिवेदन २०८१ का अनुसार जाजरकोटको नलगाड नगरपालिकाले ठूलो मात्रामा अनियमितता गरेको औँल्याएको छ।
नलगाडले वर्षभरि गरेको आन्तरिक आयको दोब्बरभन्दा बढी रकम पदाधिकारीको सुविधाका लागि खर्च गरेको प्रतिवेदनले औँल्याएको छ। यसैगरी आन्तरिक आयको करिब ९० प्रतिशत रकम मासुभातमा खर्च गरेको पाइएको छ।
मासुभात, भ्रमण खर्च, पालिकाका पदाधिकारी सुविधा, इन्धन खर्चलगायतमा ठूलो मात्रामा फजुल खर्च गरेको महालेखाले उल्लेख गरेको छ।
नलगाडको आव ०७९/८० मा कुल आन्तरिक आय जम्मा ६४ लाख ५४ हजार रुपैयाँ छ। आव ०७९/८० मा पदाधिकारीको सुविधामा १ करोड २७ लाख १९ हजार ९ सय रुपैयाँ खर्च भएको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ।
तर पालिकाले यस वर्ष खाना तथा विविधतर्फ मात्र २३ लाख खर्च गरेको महालेखाले जनाएको छ। नगरपालिकाले अर्को विविध खर्चतर्फ २९ लाख ३५ हजार ६१७ रुपैयाँ खर्च गरेको छ।
यस्तो खर्चमा मितव्ययिता कायम गर्नुपर्ने महालेखाले सुझाव दिएको छ।
