सुशासन प्रत्याभूत भएमात्र दीगो विकास र समृद्धिको आकांक्षा पूरा हुन्छ : राष्ट्रपति


राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने संवैधानिक दायित्वलाई सबैले आत्मासात् गर्नुपर्ने बताएका छन् ।

नेपाल जनप्रशासन सङ्घद्वारा आज आयोजित हेमबहादुर मल्ल सम्मान अर्पण समारोहलाई सम्बोधन गर्दै उनले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सुविधामा जनताको समान र सहज पहूँच सुनिश्चित गरी सुशासन प्रत्याभूति भएमात्र दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुने बताए।

राष्ट्रपति पौडेलले मुलुकमा विधिको शासन सञ्चालन गर्न, नागरिकहरूलाई दिइने सेवामा दक्षता ल्याउन, सरकारी कामकारबाहीमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वको बढावा गरी सुशासन कायम गर्न प्राज्ञिक तथा पेशागत संस्थाहरूको ठूलो भूमिका रहेको उल्लेख गरे।

पौडेलले भने, “यी सबै कार्यमा तीनै तहका सरकारलाई सघाउ पु¥याउन तथा घच्घच्याउन नेपाल जन–प्रशासन सङ्घ सँधै क्रियाशील रहोस्।”

राष्ट्रपति पौडेलले पूर्व प्रशासकहरूमाथि राज्यको ठूलो लगानी रहेको भन्दै सकारात्मक मन, उर्वरशील मस्तिष्क, शीपयुक्त हातहरूका माध्यमबाट मुलुकको समृद्धि र जनताको हितका निम्ति राष्ट्रको सच्चा पहरेदार भएर काम गर्न आग्रह गरे।

राष्ट्रपति पौडेलले ख्यातीप्राप्त प्रशासक एवं व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लको सम्मानमा हेमबहादुर मल्ल सम्मान स्थापना गरी शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवं सरकारी तथा गैरसरकारी क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने महानुभावहरूलाई सम्मानित गर्ने परम्परा स्थापना गरेर नेपाल जन–प्रशासन सङ्घले महत्त्वपूर्ण काम गरेको भन्दै खुशी व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *