परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विश्वमा शान्ति र समृद्धिको प्राप्तिका लागि एसियाली क्षेत्र एवं विश्वमै चुनौती बढिरहेको बताएकी छिन्।
कतारको दोहामा आयोजित एसिया कोर्पोरेसन डायलग (एसिडी)को तेस्रो सम्मेलनलाई आज सम्बोधन गर्दै मन्त्री डा. राणाले पछिल्लो समय विश्वका विभिन्न क्षेत्रमा बढ्दो द्वन्द्व तथा भू–राजनीतिक अवस्थालगायत कारण शान्ति र समृद्धिको प्राप्ति जटिल बन्दै गएको धारणा राखिन्।
उनले भनिन्, “लामो समयदेखिका द्वन्द्व, भू–राजनीतिक अवस्था, प्रतिद्वन्द्विता, आतङ्कवाद, प्राकृतिक प्रकोपजस्ता कारण विश्वव्यापी शान्ति, सुरक्षा र समृद्धिका बाधक बनिरहेका छन्। अन्तर्राष्ट्रिय सङ्गठित अपराध अर्को यस्तै समस्या बनेको छ। एसियाली क्षेत्रमा पनि शान्ति र समृद्धिको प्राप्तिका लागि यस्तै धेरै समस्या छन्।”
अहिलेको विश्वले बढ्दो ध्रुवीकरण र विभाजनको सामना गर्नु परिरहेको तथा एसियाली क्षेत्रमा बढ्दो रुपमा देखिएको युद्ध र द्वन्द्वको अवस्था ठूलो चिन्ताको विषय भएको मन्त्री डा. राणाको भनाइ थियो।
उनले भनिन्, “हामी अझै पनि सन् २०३० सम्म विश्वव्यापी दिगो विकासका लक्ष्य पूरा गर्नसक्ने अवस्थामा देखिएका छैनौँ। ती लक्ष्यबाट हामी अझै धेरै टाढा छौँ। त्यसैले हामी एसियाली देशहरु भोलिको पुस्ताको सुरक्षित भविष्यका लागि सहकार्य र एकताकासाथ काम गर्नुपर्ने अवस्था छ।”
साथै जलवायु परिवर्तन अहिलेको विश्वको एक प्रमुख चुनौती बनिरहेकाले यसको समाधानका लागि तत्कालै प्रभावकारी कदम चाल्नुपर्नेमा उनले जोड दिइन्।
मन्त्री डा राणाले भनिन्, “एसिया प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, परम्परागत ज्ञान र नवीन प्रविधिको धनी एवं युवा तथा गतिशील जनसङ्ख्या रहेको क्षेत्र भएकाले यसले विकास र समृद्धि हासिल गर्न अप्ठयारो छैन। सहकार्य र एकताका साथ भोलिको पुस्ताका लागि हामीले काम गर्नुपर्दछ।”
