नेकपा एमालेका सांसद रामचन्द्र राईले छिमेकी मुलुक भारतसँगको सम्बन्ध नेपालका लागि अवसर भएको बताएका छन्।
बिहीबार राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसद राईले नेपालको लागि भारतसँगको सम्बन्ध अवसर भएको बताएका हुन्। उनले छिमेकी मुलुकसँगको सम्बन्ध हाम्रो लागि समस्या नभएको बताए।
उनले भारतसँगको सम्बन्धलाई अवसरमा परिणत गर्न नेतृत्वको सुझबुझपूर्ण पहलकदमी हुनुपर्ने भए पनि त्यस्तो हुन नसकेको बताए।
सांसद राईले सन् १९५० को भारत–नेपाल शान्ति तथा मैत्री सन्धिको मूल कपि नै नभएको भन्दै बजारमा सुनिएका कुराहरुको आधिकारिताको सम्बन्धमा प्रश्न उठाए।
उनले भने‚ ‘१९५० को सन्धिको मूल कपि छैन। जे प्राप्त भएको छ, त्यसको आधिकारिकता कति छ जसको मूल कपि अहिलेसम्म पाएकै छैन। हामीले जे बजारमा पाइरहेका छौँ, जे हाम्रोमा सुन्नमा, देख्नमा, बुझ्नमा आइरहेको छ यसको आधिकारिकता कति? दोस्रो कुरा भारत नेपालको लागि अवसर हो भन्ने बुझ्छु मैले तर यसलाई समस्या बनाइयो। त्यो पनि हाम्रो नेतृत्वले गरेको हो। मेरो कुरा के हो भने भारत समस्या होइन‚ अवसर हो। यसलाई अवसरमा परिणत गर्न हाम्रो नेतृत्वको सुझबुझपूर्ण पहलकदमी हुनुपर्थ्यो भएन। १९५० को सन्धि खारेज हुनु, नहुनुले केही अर्थ छैन। यसमा लेखिएका बुँदाहरुले देखिन्छ यो खारेज हुनु नहुनुको केही अर्थ छैन तर हामी यसैलाई कोकोहोलो गरिरहेका छौँ। १९५० को असमान सन्धि खारेज गर समस्या पारेको छ चल्न दिएको छैन भनिरहेका छौँ।’
उनले नेपालमा सन् १९५० को सन्धि खारेज हुनुपर्ने माग बारम्बार उठिरहने भन्दै सो सन्धि खारेज हुनु र नहुनुको कुनै अर्थ नभएको बताए।
