संसदीय समितिले क्षतिग्रस्त राजमार्ग तथा सडकहरूको यथाशिघ्र मर्मतसम्भार गरी यातायात खुलाउन सरकारलाई निर्देशन दिएको छ।
शुक्रवार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले बाढी पहिरोबाट क्षतिग्रस्त राजमार्गहरुको यथाशिघ्र मर्मतसम्भार गर्न सरकारलाई निर्देशन दिएको हो।
त्यसैगरी मौजुदा सार्वजनिक खरिद कानूनको व्यवस्थाले खर्च गर्न नसक्ने भएको भन्दै विपद् क्षेत्रहरूमा फास्ट ट्रयाकमार्फत सडक पुनःनिर्माण, बेलिब्रिज जडानलगायतका काम गर्न सरकारलाई निर्देशन दिइएको छ।
त्यस्तै बीपी राजमार्गमा अलपत्र परेका यातायात मजदुर र सर्वसाधारणको तत्काल उद्धार गर्न समितिले निर्देशन दिएको छ। समितिले मृतक तथा बेपत्ता व्यक्तिका परिवारलाई सरकारद्वारा प्रदान गर्ने राहत र क्षतिपूर्ति दशैँ अगाडि नै प्रदान गर्न सरकारलाई भनेको छ।
त्यस्तै बाढी पहिरोका कारण बासस्थान गुमाएका व्यक्तिहरुलाई ७ दिनभित्र अस्थायी बसोवासको व्यवस्था गर्न र घाइतेको निःशुल्क उपचार गर्न पनि सरकारलाई निर्देशन दिइएको छ।
