झिँगाले सरापेर डिँगा मर्दैन : प्रधानमन्त्री ओली


प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्तित्व सकिदिने भनेर लागे पनि अहिले एमालेकै नेतृत्वमा सरकार रहेको बताएका छन्।

बिहीवार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले एमालेलाई भित्तामा टाँसिदिने जस्ता अभिव्यक्ति दिनेहरूलाई पन्छाएर एमाले देशमा जनताले सबैभन्दा धेरै मन पराएको राजनीतिक दल रहेको बताए। उनले आफू इमान्दारी साथ काम गर्ने व्यक्ति भएको दावी गरे। झिँगाले सरापेर डिँगा नमर्ने भन्दै अरूले सरापेर एमाले नसकिने टिप्पणी गरे।

प्रधानमन्त्री ओलीले भने‚ ‘एमालेलाई मार्छौं, सिध्याउँछौँ भने, उधुम कराए। चुनावपछि टर्च लाइट बालेर खोज्दा एमाले भेटिँदैन भने। भित्तैमा टाँसिदिन्छु भने। एमाले कुनै अस्तित्वमा छैन, एउटा छायाँ बनाउँछु भने। के भनेनन्- केपी ओली, को केपी ओली? अब को केपी ओली भन्ने म बताउन्नँ। मैले थाहा पाएको भनेको एउटा साधारण मान्छे हो। इमान्दारी साथ काम गर्छ। झिँगाले सराप्दा डिँगा मर्दैन भन्ने भनाइ छ।’

प्रधानमन्त्री ओलीले युवा शक्ति एमालेसँग छ कि छैन भन्ने कुरा फागुन १५ को अनेरास्ववियुको निर्वाचनबाट देखाउनुपर्ने बताए। उनले प्रचारबाजी र भ्रम लामो समयसम्म टिक्न नसक्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *