फाइनलमा भिड्नुअघि नेपालले म्यानमारलाई रोक्यो बराबरीमा


अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र म्यानमारबीच आइतबार दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेल दुई-दुई गोलको बराबरीमा सकिएको छ। खेलमा भएका चारै गोल पहिलो हाफमा भएका थिए। दोस्रो हाफमा भने दुवै टोली फिनिसिङमा चुके। खेलको छैटौं मिनेटमा म्यानमारकी म्यात नो खिनले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाइन्। उनले डिबक्स बाहिर प्राप्त फ्रिकिकमा हानेको प्रहारलाई नेपालकी गोलकिपर अन्जना रानामगर रोक्न सकिनन्।

पाँच मिनेटपछि नेपालले बराबरी गोल फर्कायो। नेपालका लागि सविता रानामगरले गोल गर्न सफल भइन्। सावित्रा भण्डारी साम्बाले उत्कृष्ट ड्रिबलिङ गर्दै सिक्सयार्ड नजिकबाट सवितालाई पास उपलब्ध गराएकी थिइन्। जसमा सविताले उत्कृष्ट फिनिसिङ गरिन्। १६ मिनेटमा म्यानमारले दोस्रो पटक खेलमा अग्रता लियो। उसका लागि मे लुले खेलको डिबक्स भित्रबाट बललाई गोलपोस्टको दिशा दिइन्।

४१ मिनेटमा नेपालले दोस्रो पटक बराबरी गोल गर्न सफल भयो। सरु लिम्बूले डिबक्स नजिक दिएको पासलाई प्रिति राईले साम्बालाई उपलब्ध गराइन्। उत्कृष्ट रनिङ गर्दै बल अघि बढाएकी साम्बाले उतिकै उत्कृष्ट फिनिसिङ गर्दा नेपालले खेललाई २-२ को बराबरीमा ल्याउन सफल भयो। पहिलो गोलका लागि उत्कृष्ट पास मिलाएकी साम्बाले दोस्रो हाफमा उतिकै उत्कृष्ट फिनिसिङ गर्दै पहिलो हाफमा छाउन सफल भइन्। दोस्रो हाफको इन्जुरी समयमा नेपाल फिनिसिङमा चुकेको थियो। नेपालले डिबक्समा बल पुर्‍याए पनि अन्तिम पास दिन भने चुकेको थियो।

दुवै टोली लिग चरणमा किर्गिस्तान र लेबनानलाई पराजित गर्दै फाइनल पुगिसकेका छन्। अब आगामी बुधबार साँझ छ बजे नेपाल र म्यानमार नै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। फाइनलअघि आफूभन्दा ४८ स्थान माथि वरीयताको म्यानमारलाई बराबरीमा रोकेपछि नेपालको आत्मविश्वास बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *