पूर्वराजा शाहलाई प्रधानमन्त्री ओलीको चुनौती : लोकप्रिय छु भन्ने लागेको भए चुनावमा उत्रनुस्


प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शासन गर्ने हो भने दलहरुसँग निर्वाचनमा प्रतिष्पर्धा गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन्। महोत्तरीमा बिहीवार नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको कागज कारखानाको उद्घाटन गर्दै उनले पूर्वराजा शाहलाई चुनाव लड्न चुनौती दिएका हुन्। उनले नेपाली जनताले फालेको राजतन्त्र पुनः फर्काउन भन्दै नाराबाजी भइरहेको आरोप लगाए। उनले मानिसहरु कुर्सीमा बस्दा राजा हुने दिन गएको जिकिर गरे। उनले पूर्वराजालाई आफू जनतामाझ लोकप्रिय छु भन्ने लागेको भए निर्वाचनमा लड्न चुनौति दिए। छायाँ अघि सारेर नभइ आफैँ राजनीतिक दल खोलेर चुनाव लड्न पनि उनले पूर्वराजालाई चुनौती दिए।

‘अब हुँदाहुँदा हिजो कि अस्ति हो- उहिले नेपाली जनताले फालेको राजतन्त्रलाई त्यो तन्त्र कताबाट उधिनेर, कहाँबाट उधिनेर ल्याउने हो? कहाँ ल्याएर कुर्सीमा राख्छन् अरे। अनि मान्छे कुर्सीमा बस्दा राजा हुने भए त तपाईँहरु कुर्सीमा बस्नुभएको छ नि राजा हुनुभयो?‚’ प्रधानमन्त्री ओलीले भने, ‘कुर्सीमा राख्दैमा होइन, संविधानको बाटो समाउनुस्‚ संविधानअनुसार आउनुस्। पूर्वराजा लोकप्रिय छन् भने चुनाव लड्नुस्‚ आउनुस् पार्टी खोल्नुस्। एउटा छायाँ अघि सारेर होइन, आफू अघि सर्नुस् न। लोकप्रिय हुनुहुन्छ भने ठिक छ, चुनाव लड्न आउनुस्। तपाईँलाई जहाँसुकै पनि चुनाव लड्न खुला छँदैछ नि! आउनुस् चुनाव लड्नुसु, पार्टी खोल्नुस्, खोलेकै छ, त्यसलाई आफ्नो भन्नुस्। मेरो पार्टी भन्नुस् न।’

अब नेपालमा जन्मिँदै राजा हुने प्रणाली स्वीकार्य नहुने उनले बताए। संविधान र लोकतन्त्रको बाटो समातेर अघि बढ्न सबैलाई खुला रहेको उल्लेख गर्न पनि उनले बाँकी राखेनन्।

‘अलिकति टाउको निकाल्ला निकाल्ला जस्तो पनि गर्ने, अलि अफ्ठ्यारो पर्‍यो भने लुसुक्क पछाडि तानेर कछुवा तालले टाउको लुकाउने। अब यस देशमा सामन्ती राजतन्त्र, जन्मिँदै राजा हुने कोही, कोहीले जुनसुकै क्षमता भए पनि रैती भएर बस्नुपर्ने यस्तो प्रणाली हुँदैन‚’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाली जनताले अबको समयमा राजतन्त्रलाई स्वीकार गर्दैनन्। राजतन्त्र मान्य हुँदैन। हाम्रो संविधानले राजतन्त्र चिन्दैन। नेपाली जनताले फालिसकेका छन् । म स्पष्ट भन्न चाहन्छु, बेकारको तनाव बढाउने काम कसैले पनि गर्न नखोज्नुस्।’

बलमिच्याइँ र अराजकताको बाटोबाट सिंहासनमा बस्छु भनेर नठान्न पनि उनले पूर्वराजालाई चेतावनी दिए।

‘सबैलाई अधिकार छ, सबै समान छन् भन्ने मान्नुस्। फेरि राजा भएर रैती बनाउँछु, फेरि २ सय कति वर्ष, फेरि खान्छु भन्ने नसोच्नुस्‚’ प्रधानमन्त्री ओलीले भने, ‘संवैधानिक लोकतान्त्रिक बाटोबाट‚ विधिको बाटोबाट अघि बढ्नुस्। बलमिच्याईं, अराजकता र झाडीको बाटोबाट कोही सिंहासनमा बस्छु भन्ने ठानेको छ भने नेपाली जनतालाई त्यो कुरा स्वीकार्य छैन।’

प्रधानमन्त्री ओलीले देश विकास निर्माणका कामबाट अघि बढिरहेको दावी गरे। उनले आफू मधेशविरोधी नभएकोसमेत दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *