प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको गणतन्त्र नागरिक सर्वोच्चताको प्रतिक भएको बताएका छन् । शुक्रबार कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।
उनले अहिले आफूहरूले ठिक शासन प्रणाली ल्याएको बताउँदै त्यो लोकतान्त्रिक गणतन्त्र भएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भने, ‘कोही राजा हुने, कोही रैती हुनुपर्ने अवस्थाको अन्त्य भएको छ । नागरिक सर्वोच्चताको प्रणाली हामी ल्याएका छौँ । गणतन्त्र भनेको नागरिक सर्वोच्चताको प्रतीक हो । जनताले शासन सञ्चालनको निर्णय गर्ने व्यवस्था हो ।’
फरक प्रसङ्गमा ओलीले भेरी बबई आयोजना खासै अघि बढ्न नसकेको बताए । उनले अहिले देशका ९८ प्रतिशत स्थानमा विद्युत् पुगेको बताउँदै ८७ प्रतिशत भन्दा बढी साक्षरता पुगेको समेत बताए । उनले कर्णाली सम्भावना नै सम्भावनाको प्रदेश भएको समेत उनले बताए। ‘कर्णाली प्रदेश जडीबुटी, जलस्रोतको धनी प्रदेश हो’ प्रधानमन्त्रीले भने ।
उनले अलपत्र आयोजनालाई तत्काल अगाडि बढाउने बताए । ओलीले प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रम हटाउने योजनामा सरकार रहेको समेत बताए ।
