स्ववियु निर्वाचनका लागि मनोनयन पत्र वितरण


स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका लागि मनोनयन पत्र वितरण गरिएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी सङ्गठन दर्ता गराएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए।

उनले आज मनोनयन पत्र वितरण गरिएका उम्मेदवारले भोलि फागुन २७ गते विहान ११ देखि २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको बताए। उनले सबै सङ्गठनका उम्मेदवारले मनोनयन पत्र लगेको बताए। अनेरास्ववियुका अध्यक्ष समिक बडालले निर्वाचनका लागि आफ्नो सङ्गठनले सबै क्याम्पसमा मनोनयन पत्र लगेको जानकारी दिए।

नेपाल विद्यार्थी सङ्घका प्रवक्ता सुरज सेजुवालले सबै क्याम्पसबाट उम्मेदवारीका लागि मनोनयनपत्र लगेको बताए। अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव रोशन मगरले सबै क्याम्पसमा आफ्नो सङ्गठनको उम्मेदवारी दर्ता गराउने बताए। स्ववियु निर्वाचन एकै दिन चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा हुनेछ। निर्वाचनमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *