आगजनी र तोडफोडमा संलग्नहरुलाई फौजदारी संहिता अनुसार कारबाही गर्ने तयारी


काठमाण्डौको तीनकुनेमा हिजो भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरुलाई सरकारले फौजदारी संहिताअनुसार कारबाही गर्ने तयारी गरेको छ ।

गृह मन्त्रालयले राजावादीको प्रदर्शनलाई हिंसाको संज्ञा दिएको छ । आगजनी, तोडफोड र लुटपाटका घटना कुनै क्षमायोग्य नभएकाले कानूनबमोजिम कारबाही हुने गृहले जनाएको छ । मन्त्रालयले विज्ञप्ति निकालेर यस्ता अमानवीय र गैरकानूनी गतिविधिमा संलग्न नहुन सबैसँग आग्रह पनि गरेको छ ।

हिजोको घटनामा संलग्नहरुलाई प्रहरीले पक्राउ गर्न थालेको छ । उनीहरुलाई ज्यान मार्ने उद्योगदेखि आगलागीसम्मका कसुरमा कारबाही प्रक्रिया अघि बढाउने तयारी छ । फौजदारी संहिता अनुसार कसुर गर्ने तथा गर्न उकास्नेहरू कारबाहीमा पर्नेछन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा ७३ मा कसैले कानून बमोजिम आवश्यक वस्तु मानिने कुनै वस्तु वा सार्वजनिक वा निजी सम्पत्ति हानि, नोक्सानी, तोडफोड वा आगजनी गर्न वा गराउन वा अरू कसैलाई प्रयोग गरी वा आफैँले त्यस्तो वस्तु वा सम्पत्ति बिगार्न हुँदैन भन्ने उल्लेख छ ।

यस्तो कसुरबाट त्यस्तो वस्तु वा सम्पत्तिको हानि, नोक्सानी भइसकेको रहेछ भने त्यसको बिगो बमोजिमको क्षतिपूर्तिसमेत क्षति पुर्याउनेबाट भराउनुपर्ने व्यवस्था छ ।

यस्तो कसुर गर्ने व्यक्ति यकिन भएकोमा त्यही व्यक्ति र त्यस्तो व्यक्ति यकिन नभएकोमा त्यस्तो काम गर्न उक्साउने वा आदेश दिने व्यक्तिले कसुर गरेको मानिने दफामा उल्लेख छ । यो दफा अनुसारको कसुर गर्ने व्यक्तिलाई क्षतिपूर्ति भराउने र कैद हुने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *