सङ्घीय संसद्को दुवै सदनको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक केहीबेर चलेर स्थगित भएको थियो ।
सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को गतिरोध अन्त्य गर्न पटक पटक सत्ता र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि सहमति जुटेन । साथै सभामुख घिमिरे र अध्यक्ष दाहालले पनि दिउँसो छलफल गर्नुभएको थियो ।
छलफलपछि भोलि बिहान ११ बजेसम्मका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक स्थगित गर्ने निर्णय भएको संसद् सचिवालयले जनाएको छ । विपक्षी दलहरूले कुलमान घिसिङलाई सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोमा दुवै सदनमा प्रधानमन्त्रीको जवाफ मागेर अवरोध गर्दै आएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षी दलहरूका सांसदहरूले बोल्न पाउनुपर्ने भन्दै होहल्ला गरेका थिए ।
