मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संगठनको प्यानल नै विजयी भएको छ । अध्यक्षमा नेविसंघका विवेक खड्का नेतृवको प्यानल नै विजयी भएको हो ।
सोमबार भएको मतदानबाट नेकपा एमाले निकट अनेरास्ववियुका जगतजंग शाहीलाई पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । सार्वजनिक नतिजा अनुसार खड्काले ११ सय ८७ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वि शाहीले नाै सय सात मत प्राप्त गरी पराजित बने । अध्यक्षका अन्य प्रत्यासीहरु प्रकाश विकले दुई सय ७५ र मिलन बिसीले दुई सय ३१ मत प्राप्त गरे । कुल चार हजार तीन सय ८३ मतदातामध्ये दुई हजार आठ सय ६४ जनाले मतदान गरेका थिए ।
स्ववियु निर्वाचन कार्यविधि अनुसार अध्यक्ष, सचिव, कोषाध्यक्ष गरी तीन र बाँकी सदस्य गरी १७ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । मध्यपश्चिम विश्वविद्यालयमा चार हजार तीन सय ८३ मतदाता छन् । ८ भदौ २०७३ मा भएको पहिलो स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको अवधि २०७६ मा सकिएपछि एमयूको स्ववियु नेतृत्वविहीन छ ।
एमयूको केन्द्रीय क्याम्पसमा विगत लामो समयदेखि स्ववियु नेतृत्वविहीन बनेपछि उच्च अदालत सुर्खेतले गत माघमा २० चैत २०८१ भित्र निर्वाचन सम्पन्न गराउन विश्वविद्यालयलाई आदेश दिएको थियो अदालतको उक्त आदेशपछि विश्वविद्यालयले ७ चैतबाट निर्वाचन प्रक्रिया अघि बढाएको थियो । विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसमा २०७९ चैतमै निर्वाचन सम्पन्न भइसकेको छ ।
