एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने


नेकपा एमालेले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने सात जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले वैशाख ९ गते पार्टी स्थापना दिवसका दिन कञ्चनपुरका लालबहादुर विश्वकर्मा, जाजरकोटका स्वर्गीय रत्न शर्मा न्यौपाने, दाङका शोभारम बस्नेत, गोरखाका वाचस्पति देवकोटा, काठमाण्डौकी शान्ता मानवी, सप्तरीका सत्यनारायण मण्डल र झापाका हरिचरण शिवाकोटीलाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

त्यस्तै एमालेले वैशाख ११ गतेलाई गणतन्त्रको उत्सवका रूपमा मनाउने गर्ने निर्णय पनि गरेको छ । निरङ्कुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक बीजारोपण गरिएको दिन भएकोले त्यो दिन भव्य रूपमा कार्यक्रम आयोजना गर्ने ज्ञवालीले जानकारी दिनुभयो ।

एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको अवसरमा दिनुभएको भिडियो सन्देशप्रति आपत्ति जनाएको छ । चैत १५ गते तीनकुनेमा भएकाे घटनालाई पूर्वराजा शाहले जागरण भनेकाे भन्दै एमालेले आपत्ति जनाएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *