नेपाल पत्रकार महासंघ सुर्खेतले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । शुक्रवार दिवसका अवसरमा आयोजित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरोकारवालाहरूको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गएिको हो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश उपाध्यक्षसमेत रहनुभएका प्रदेशसभा सदस्य कृष्णबहादुर जिसीले सुसूचित हुन पाउने जनताको अधिकार रक्षा गर्न समाचारको निष्पक्षता तथा गम्भीर्यतामा पत्रकारले ध्यान दिन आग्रह गर्नुभयो । विश्वको इतिहासमा नेपालमा प्रेस स्वतन्त्रताको अवस्था राम्रो भएको भएपनि अझै पनि प्रेसमाथिको हमला अन्त्य हुन नसक्नुु दुखद् रहेको उहाँले बताउनुभयो । यस्तै, नेकपा एमालेका सुर्खेत जिल्ला उपाध्यक्ष मोहन बडुवालले प्रेस स्वतन्त्रतासँगै पत्रकारको सुरक्षाको सवाललाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो।
कतिपय अवस्थामा पत्रकार स्वंयमका कारण प्रेसमाथि हमाला भइरहेको उल्लेख गर्दै उहाँले प्रेस स्वतन्त्र भएमात्रै लोकतन्त्र बलियो हुने धारणा राख्नुभयो । उच्च अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता दुर्गाप्रसाद सापकोटाले राज्यको चौथो अङ्ग मानिने पत्रकार जगतले जनतालाई सत्य, तथ्य र निष्पक्ष सूचनाको पहुँचमा पु¥याउन पेशागत मर्यादालाई पालन गर्नुपर्ने बताउनुभयो । महासंघ शाखा सुर्खेतका पूर्व अध्यक्ष गणेशकन्चन भारतीले प्रेस स्वतन्त्र नभएको मुलुकमा जनताको आवज बुलन्द हुन नसक्ने बताउनुभयो ।
राज्य तथा असंगठित समूहबाट पत्रकारमाथि भइरहेको दण्डहिनताको अन्त्य हुनुपर्नेमा जोड दिदै उहाँले पत्रकारितामा स्वनियन्त्रण कायम रहेसम्म प्रेस स्वतन्त्र हुन नसक्ने धारणा राख्नुभयो । मानवअधिकार तथा शान्ति समाजका महासचिव प्रकाश शाहीले कतिपय पत्रकारहरु पेशागत मर्यादाभन्दा दलिय राजनीतिमा केन्द्रित हुँदा स्वतन्त्र प्रेसमाथि प्रश्न उठ्ने अवस्था आएको दावी गर्नुभयो । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव रामप्रसाद जैशीले पत्रकारहरुले समाचार लेख्दा पेशागत मर्यादा बिर्सन नहुने बताउनुभयो ।
कतिपय अवस्थामा तथ्य नबुझेर समाचर प्रकाशन गरिदा द्वन्द्वको अवस्था सिर्जना हुनसक्ने बताउदै यसतर्फ पत्रकारहरु सजग रहनुपर्ने उहाँले बताउनुभयो । यस्तै, महासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्माले पछिल्लो समय पत्रकारहरु माथि भइरहेको हमलाप्रति दुख व्यक्त गर्दै उत्तरदायी र मर्यादित, स्वतन्त्र र सुरक्षित प्रेस आजको आवश्यकता भएको बताउनुभयो । महासंघले अभिव्यक्ति स्वतन्त्रता, सुरक्षित र स्वतन्त्र प्रेसको सवालमा कसैसँग सम्झौता नगर्ने अध्यक्ष शर्माले दावी गर्नुभयो ।
