राजावादीको चलखेल र षड्‌यन्त्रलाई माओवादीले परास्त गर्‍यो : प्रचण्ड


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी शक्तिलाई माओवादीले परास्त गरेको दाबी गर्नुभएको छ ।

शनिवार काठमाडौँमा आयोजित तामाङ मुक्ति मोर्चाको वागमती प्रदेश प्रथम अधिवेशनमा बोल्दै उनले यस्तो दाबी गर्नुभएको हो। उहाँले माओवादी केन्द्रले गरेको जनप्रदर्शनले राजावादी शक्तिको चलखेल र षड्यन्त्रमाथि ठूलो धक्का दिन सफल भएको जिकिर गर्नुभयो।

उहाँले प्रतिगामी शक्तिले पुनः चलखेल गर्नसक्ने भएकाले फेरि आन्दोलन आवश्यक हुनसक्ने बताउनुभयो। उहाँले पार्टीमा आबद्ध विभिन्न जातीय तथा क्षेत्रीय संगठनलाई शक्ति सञ्चय गर्न आग्रह गर्नुभयो। उहाँले यथास्थितिवादी र प्रतिगमनकारी शक्तिलाई संसद्, सडक तथा जनताको माझमा गएर खबरदारी गरिरहेको दावी गर्नुभयो ।

प्रतिगमनकारी शक्तिलाई परास्त गरी जनताको ठूलो त्यागबाट प्राप्त संघीय गणतन्त्रको रक्षा गर्ने जिम्मा आफूहरूकै भएको बताए। माओवादी केन्द्रले सञ्चालन गरेको गतिविधिबाट जनतामा आशा र भरोसा जगाएको उहाँको भनाइ छ।

प्रचण्डले भन्नुभयो, ‘विभिन्न जातीय क्षेत्रीय मोर्चाका अधिवेशन जनसंगठन सबैमार्फत सबलरूपमा शक्ति सञ्चय गरेर यथास्थितिवादी र प्रतिगामीलाई गतिलो जवाफ दिन आवश्यक छ। काठमाडौँमा राजावादीहरूको वितण्डालाई हामीले ठूलो धक्का दियौँ। राजावादी वितण्डा र प्रतिगामी षड्यन्त्रका विरुद्ध जनताको ठूलो तागत र हाम्रो पार्टी र समाजवादी मोर्चाको तागतद्वारा त्यसलाई परास्त गर्‍यौँ।’

प्रचण्डले शान्ति प्रक्रियामा आएपछि विभिन्न जनवर्गीय संगठनसँग पार्टीको सम्बन्ध कमजोर हुँदा पार्टी कमजोर बन्न पुगेको बताउनुभयो। उनले माओवादी पार्टी कमजोर हुँदा संघीय गणतन्त्र धरापमा पर्नसक्ने कुरा पहिल्यै अनुमान गरेको जिकिर गरे। उहाँले  पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा संघीय गणतन्त्रलाई बलियो बनाउन भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेको दाबी गर्नुभयो। 

प्रचण्डले २०८४ को निर्वाचनमा माओवादी केन्द्रलाई एक नम्बरको पार्टी बनाउने र समाजवादी क्रान्तिको आधार तयार पार्ने बताउनुभयो । पार्टीलाई बलियो बनाउन आफू रातदिन विभिन्न अभियानमार्फत जनतासँग जुटेको उहाँको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *