बाँके : नेपाल-भारत जमुनाह नाका पश्चिम नेपालकै प्रमुख नाकामध्येको एक हो । यहाँ दैनिक हजारौं मानिसहरु ओहोरदोहोर गर्ने गर्छन् । जमुनाह नाकाको पारि भारतीय सुरक्षा बल एसएसवी बस्छ भने वारी नेपाल प्रहरी र सशस्त्र प्रहरी । यी दुवै सुरक्षाकर्मीले चेकजाँच गर्दै मानिसहरुलाई वारपार गर्न दिने गरेका छन् ।
तर पछिल्लो समय भारतिय सुरक्षाकर्मी एसएसवीले भने नेपालीहरुलाई अनावश्यक दुख दिन थालेको छ । नेपालबाट किनमेलका लागि भारत जाने नेपालीहरुलाई फर्किदा अनावश्यक चेकजाँच र खानतलासी गर्ने गरेको नेपालीहरुले बताए । कोरोना भाइरस महामारीका कारण गएको चैत ११ गतेदेखि बन्द रहेको नाका अहिले नियमित भइसकेको छ ।
नेपाली सवारीसाधन रुपैडिया लैजान नपाएपनि वारि पार्किङ गरेर मानिसहरु पैदलै रुपैडिया पुग्ने गरेका छन् । दैनिक उपभोग्य बस्तु किनमेलका लागि यसरी रुपैडिया जाने नेपालीहरुलाई एसएसवीले अनावश्यक खानतलासी गर्र्दै दुख दिएको नेपालीहरुले बताए ।
नेपाली सुरक्षा अधिकारीहरुको गैरजिम्मेवारका कारण नाकामा नेपालीहरुले दुख पाइरहेका हुन्। भारतीयहरु सवारी साधन लिएरै नेपालगन्जलगायतका ठाउँमा निर्वाध घुमिरहेका छन् । तर नेपालीहरुलाई भने भारतीय एसएसवीले सवारीसाधन लिएर प्रवेश गर्न दिदैन्।
बाँकेका जिम्मेवार सुरक्षा निकायका अधिकारीहरुले एसएसवीसँग समन्वय गरेर नाकामा नेपालीले पाउने दुखलाई हल गर्न सक्ने भएपनि उनीहरुले चासो नदिएको नाकाबासीहरुको बुझाइ छ ।
खुला सीमानाकाको प्रयोग गरेर तस्करहरुले तस्करी गर्ने गरेपनि सिधासाधा नेपालीहरुले भने मुख्य नाकामा एसएसवीको कष्ट सहनु परेको छ । ठूला तस्करहरु सबै सेटिङमा सबै वारपार गर्छन गरिव र सिधा नागरिकहरुले नाकामा अनावश्यक झनझट र दुख खेप्नु पर्छ एकजना नेपाली भन्दै थिए ।
