कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले वीरेन्द्रनगर–१३ स्थित करेखोलामा सञ्चालित अत्याधुनिक ह्याचरी उद्योगको अवलोकन गर्नुभएको छ । मुख्यमन्त्रीसहित मन्त्रीहरुको टोलिले शनिवार कर्णाली ह्याचरी उद्योगको अवलोकन तथा निरीक्षण गर्नुभएको हो । उद्योग अवलोकनका क्रममा मुख्यमन्त्री कँडेलले उद्यमीलाई प्रोत्साहन होस् भन्ने ध्येयका साथ आफू र विषयगत मन्त्रालय सम्हालिरहेका मन्त्रीहरू यहाँ आएको बताउनुभयो । ‘सिमित स्रोत– साधनकाबीचबाट पनि राम्रो गर्नुभएको रहेछ,’ उहाँले भन्नुभयो, ‘उत्पादन बढाउनुस्, त्यसको बजार खोज्नुस्, तपाईंहरूजस्ता उद्यमीलाई सरकारले प्रोत्साहन गर्छ ।’
उहाँले उद्योग सञ्चालकलाई बजार विस्तारमा जोड दिन सुझाउनुभयो । उद्योगको उत्पादनलाई अन्य प्रदेशसम्म पनि पु¥याउनेगरी लाग्नुपर्ने उहाँको भनाइ थियो । मुख्यमन्त्रीसँगै कर्णाली सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाह र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाले पनि उद्योगको अवलोकन गर्नुभएको थियो ।
कर्णाली ह्याचरी उद्योग २०७५ सालबाट सञ्चालनमा ल्याइएको हो । २५ करोड बढीको निजी लगानीमा सञ्चालित उद्योगका सञ्चालक पूर्णप्रसाद पाण्डेका अनुसार यो कुखुराका चल्ला उत्पादन गर्ने कर्णाली प्रदेशमै एकमात्र ठूलो र आधुनिक उद्योग हो ।
