पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको घटनाले नेपाली राजनीतिक र प्रशासनिक क्षेत्र तरङ्गित बनेको छ ।
किनभने नेपालको इतिहासमा पूर्व प्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको सम्भव त यो नै पहिलो पटक हो । मन्त्रिपरिषद्को नीतिगत निर्णयमाथि भ्रष्टाचार मुद्दा लाग्ने वा नलाग्ने भन्ने बहस चलिरहेको छ ।
यसबारे संसद्बाट कानुन समेत बन्ने क्रममै रहेकाले यो विषयलाई कतिपयले असामान्य र प्रतिशोधका रूपमा समेत लिएका छन् । मुलुकमा भ्रष्टाचार व्याप्त रहेको गुनासो चर्को रूपमा सुनिन्छ । सत्तापक्ष वा विपक्षी सबैले भ्रष्टाचार नियन्त्रण र सुशासनका कुरा गरिरहेकै छन् । यही बेला अख्तियारले पूर्व प्रधानमन्त्री नेपालको (२०६६)कार्यकालमा भएको मन्त्रिपरिषद्को निर्णयलाई आधार मानेर उनीसहित ९३ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो ।
