सर्वोच्चमा तीन न्यायाधीश सिफारिस


न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन जना न्यायाधीश सिफारिस गरेको छ।

चार पद रिक्त भए पनि परिषद्ले तीन जनाको नाम सिफारिस गरेको छ। अब संसदीय सुनुवाइको प्रव्रिmया अघि बढ्ने छ। सुनुवाइ पूरा भएपछि न्यायाधीशको नियुक्ति हुने छ।

परिषद्ले कानुन व्यवसायीबाट एक र उच्च अदालतका मुख्य न्यायाधीशबाट दुई जनालाई सर्वोच्चमा सिफारिस गरेको प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिए। परिषद्को बिहीबारको बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालतका मुख्य न्यायाधीशद्वय श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई सर्वोच्चमा सिफारिस गरेको हो।

पोखरेल सर्वोच्च अदालत बार एसोसिएसनको बहालवाला अध्यक्ष हुन्। हालको न्यायाधीशको अवकाश उमेर कायमै रहेमा २०८९ वैशाख ५ गतेसम्म पोखरेल सर्वोच्चमा न्यायाधीशका रूपमा रहनेछन्। पोखरेलले दिल्ली विश्वविद्यालयबाट वाणिज्य कानुनमा स्नातकोत्तर गरेका छन्।

यस्तै ३२ वर्षअघि न्याय सेवामा प्रवेश गरेका श्रीकान्त पौडेल सर्वोच्चको रजिस्ट्रार हुँदै उच्च अदालतको न्यायाधीश बनेका थिए। पौडेल हाल उच्च अदालत जनकपुरको मुख्य न्यायाधीश छन्।

पौडेलले उमेरहदबाट अवकाश पाउँदासम्म २०८८ माघ १ गतेसम्म सर्वोच्च न्यायाधीशका रूपमा काम गर्नेछन्। २०७३ मा उच्च अदालतको न्यायाधीश नियुक्त भएका पौडेल २०८० मङ्सिरमा मुख्य न्यायाधीश बनेका थिए। मुख्य न्यायाधीश हुनुअघि पौडेल विशेष अदालतको अध्यक्षको जिम्मेवारीमा थिए।

यस्तै सिफारिसमा परेकी थापा २०७० जेठ २७ मा उच्च अदालतमा न्यायाधीशमा नियुक्त भएकी थिइन्। थापा २०८० मङ्सिरमा मुख्य न्यायाधीश नियुक्त भएकी हुन्। उमेरहद अनुसार थापा २०८७ मंसिर ८ सम्म सर्वोच्चको न्यायाधीशमा बहाल रहनेछिन्।

पछिल्लो समय परिषद्ले नियमित रूपमा न्यायाधीश सिफारिसको प्रयास गरिरहेको थियो। सर्वोच्चमा लामो समयदेखि चार न्यायाधीश रिक्त भए पनि सिफारिस हुन सकेको थिएन। संसदीय सुनुवाइबाट अनुमोदन भई सर्वोच्चमा तीन न्यायाधीश थप भएमा एक पद रिक्त हुने छ।

संवैधानिक व्यवस्था अनुसार प्रधान न्यायाधीशसहित सर्वोच्चमा २१ न्यायाधीश रहने छन्। हाल १७ जना कार्यरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *