नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा सरकार अपेक्षित रूपमा लचक नभएको टिप्पणी गरेका छन्।
बुधवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपमहासचिव पुनले यस्तो टिप्पणी गरेका हुन्। भिजिट भिसा प्रकरणको सम्बन्धमा सरकार नरम हुनुको सट्टा झन गरम हुँदै गएको उल्लेख गर्दै जिम्मेवार बन्नुपर्ने बताए।
उनले भिजिट भिसा प्रकरणलाई प्रतिपक्षको विषय नभई आम जनताको पीडा भएको भन्दै सरकार छानबिनमा प्रतिबद्ध हुनुपर्ने बताए।
पुनले भने, ‘भिजिट भिसा प्रकरणबारे सरकार भनेजति अझै लचक भएको छैन। हामी धेरै नरम भएका छौँ, सरकार गरम छ। सरकार अलि नरम र जिम्मेवार हुनुपर्छ। यो विषय प्रतिपक्षको नभई जनताको विषय हो। यसबारे छानबिन गरेर तथ्यहरू स्थापित गर्न सरकारको प्रतिबद्धता अनिवार्य हो नि त।’
भिजिट भिसाको आवरणमा हुँदै आएको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता भए नभएको बुझ्न र प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन्।
१३ जेठदेखिको संसद् बैठक अवरोध गर्दै आएका विपक्षी दलहरूले १५ जेठमा बजेट ल्याउन दिए पनि दुई साता बढी हुँदा बजेटमाथिको छलफल सुरु हुन सकेको छैन।
