गृहमन्त्री रमेश लेखकले अब बयानमा आधारित नभई विज्ञानमा आधारित अनुसन्धान शुरु गर्नुपर्नेमा जोड दिएका छन्।
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलको तेस्रो राष्ट्रिय सम्मेलन समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विज्ञानमा आधारित अनुसन्धान अघि बढाउँदा त्यसको उपयोग सही ढंगले गर्नुपर्ने बताए।
उनले मुद्दामा पनि नयाँनयाँ चुनौती देखिरहेको उल्लेख गर्दै तदनुसार नै अघि बढ्न जरुरी रहेको बताए। अहिले विज्ञताको क्षेत्र पनि बढ्दै गएको र फरक पनि हुँदै गएको बताए। साथै नयाँ चुनौती पनि आइरहेकाले नयाँ चुनौती समाधान गर्ने गरी अनुसन्धान अघि बढाउन जरुरी रहेको बताए। पुरानै प्रक्रिया र पद्धतिले अब अनुसन्धान सम्भव नरहेको बताए।
गृहमन्त्री लेखकले भने, ‘अहिले विज्ञताको क्षेत्र अलि बढ्दै गएको छ र फरक पनि हुँदै गएको छ। नयाँ नयाँ चुनौती आइरहेका छन्। नयाँ नयाँ चुनौती फेस गर्न पुरानै प्रक्रिया र पद्धतिले सम्भव छैन। अब बयानमा आधारित अनुसन्धानभन्दा विज्ञानमा आधारित अनुसन्धान अघि बढाउनुपर्छ।’
गृहमन्त्री लेखकले फौजदारी न्याय वा मुद्दा सम्बन्धी व्यवस्था पनि धेरै फराकिलो हुँदै गएको बताए।
