अर्थमन्त्री पौडेलको दाबी :- बजेटले अर्थतन्त्र उकास्नेछ


उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले शिथिल अर्थतन्त्रलाई उकास्ने दाबी गरेका छन्।

बिहीवार राष्ट्रियसभाको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन्। उनले निजी क्षेत्र र सहकारी क्षेत्रले बजेटप्रति सकारात्मक टिप्पणी गरिरहेको उल्लेख गर्दै बजेटले मितव्ययिता, सुशासन र आर्थिक पुनरुत्थानका लागि साहसिक र उपयोगी कार्यक्रम अघि सारेको जिकिर गरे।

उनले स्टार्टअप प्रवर्धनका लागि सूचना प्रविधि (आईटी) क्षेत्रमा विभिन्न मन्त्रालयमार्फत महत्त्वपूर्ण कार्यक्रम प्रस्ताव गरेको बताए। रेमिट्यान्स व्यवस्थापन, कृषि क्षेत्रको प्राथमिकता तथा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको समेत बताए।

पौडेलले भने, ‘रेमिट्यान्सको सन्दर्भमा समेत बजेटले केही कुरा बोलेको छ‚ अझै थप मौद्रिक नीतिले बोल्छ। कृषि क्षेत्रलाई प्राथमिकता दिइएको छ। युवाहरूलाई देशभित्रै रोक्न अनेकन् कार्यक्रम अघि सारिएको छ। दिगो विकास र सोह्रौँ योजनालाई बजेट निर्माणको आधारको रूपमा आत्मसात गरेर बजेट प्रस्तुत गरिएको छ।’

आगामी आर्थिक वर्षको बजेटले समष्टिगत आर्थिक पुनरुत्थानमा टेवा पुर्‍याउने उनको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *