सर्वहाराको नेतृत्वमा समाजवाद तत्काल सम्भव छैन : प्रचण्ड


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव नरहेको बताएका छन्।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सर्वहारा वर्गको अधिनायकत्व वा सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव नरहेको बताएका हुन्।

उनले मध्यम वर्गलाई अगाडि ल्याउने, राष्ट्रिय पुँजीको विकास गर्ने र दलाल पुँजीपति, बिचौलिया र नोकरशाहले कायम गरेको हैकम नियन्त्रण र नियमन गर्न जरुरी रहेको बताए। समाजवादको आधार निर्माणको मुख्य तगारो दलाल पुँजीवाद र नोकरशाही पुँजीवाद रहेको बताए। अहिले बिचौलियाहरूले नेपाली अर्थतन्त्रलाई कब्जा गर्ने प्रक्रिया चलेको बताए।

अध्यक्ष दाहालले भने, ‘अहिले भर्खरै सर्वहारा वर्गको अधिनायकत्व वा सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव छैन। गर्ने भनेको हामीले मध्यम वर्गलाई अगाडि ल्याउने, राष्ट्रिय पुँजीको विकास गर्ने र दलाल पुँजीपति, बिचौलिया र नोकरशाहहरूले हैकमलाई नियन्त्रण र नियमन गर्ने हो।’

अध्यक्ष दाहालले भ्रष्टाचार गर्ने र भ्रष्टाचारीलाई संरक्षण गर्ने, विकृत नोकरशाही‚ दलाल पुँजीवादको पक्षपोषण गर्नेलाई वामपन्थी नै भनिएको र त्यसविरुद्ध लड्नेलाई पनि वामपन्थी नै भन्ने गरिएकोप्रति आपत्ति जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *