सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालि प्रदेश राजधानी सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण गर्नुपर्ने बताएका छन। वीरेन्द्रनगरमा सोमबार आयोजित उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण तथा व्यवस्थापन गुरुयोजना निर्माण कार्यक्रममा बाेल्दै उनले उत्त क्षेत्रकाे व्यवस्थापन तथा संरक्षण अपरिहार्य भएको बताएका हुन।
वीरेन्द्रनगरमा रहेको खानेपानीको समस्या समाधान निम्ति जलस्रोत क्षेत्रको दीर्घकालीन सुरक्षा र व्यवस्थापनमा सबैको ध्यान जानुपर्ने मुख्यमन्त्री कँडेलको भनाई थियो ।
मुख्यमन्त्री कँडेलले सामुदायिक वनहरूमा अवस्थित प्राकृतिक वनस्पति तथा जैविक विविधताको संरक्षण अहिलेको आवश्यकता भएको उल्लेख गरे । उनले भने, “वीरेन्द्रनगर उपत्यकामा खानेपानी अभाव बढ्दो छ, यस्तो अवस्थामा उत्तरी भेगको जलाधार क्षेत्र जहाँ स्रोतहरू छन् त्यहाँ संरक्षण नगरी समाधान सम्भव छैन, ढलेका रूख र सडेका रूख बाहेक अन्य वनस्पतिको कटानी नियन्त्रणमा ल्याउनु पर्छ ।” मुख्यमन्त्री कँडेलले जलाधार क्षेत्रको वैज्ञानिक संरक्षण र दीर्घकालीन व्यवस्थापनका लागि गुरुयोजना निर्माण कार्यलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिए । योजनाको कार्यान्वयनमा स्थानीय तह, वन उपभोक्ता समूह, विज्ञ, नागरिक समाज र प्रदेश सरकार बीचको सहकार्य आवश्यक रहेको मुख्यमन्त्री कँडेलले बताएका छन।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सुर्यनाथ योगी , जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनार, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, विज्ञ र सरोकारवाला निकायहरूले जलाधार क्षेत्रको दीर्घकालीन संरक्षण, भूक्षय न्यूनीकरण, पानीको पुनः भरण क्षमता अभिवृद्धि र वन सम्पदाको दिगो उपयोगका लागि गुरुयोजना निर्माण कार्य महत्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए ।
