नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवाद उन्मुख अर्थतन्त्रका निम्ति दिगो तथा आत्मनिर्भर अर्थतन्त्रको विकास अपरिहार्य रहेको बताएका छन्।
पार्टी निकट उद्योगी व्यवसायीहरूको अधिवेशनको शुभारम्भ गर्दै उनले मुलुकका निम्ति आवश्यक औद्योगिक उत्पादनले मात्र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सकिने बताए।
समाजवादी नीति तथा कार्यक्रममार्फत आयात निर्यातमा सन्तुलन कायम गर्न उत्पादन बढाउनुपर्नेमा जोड दिँदै उनले योजनाबद्ध रूपमा आयात विस्थापित, निर्यात प्रवर्द्धन गरी नाफामा जाने उपाय अवलम्बन गर्नुपर्ने बताए।
समाजवाद कार्यान्वयनका लागि छरिएको पुँजीलाई एकीकृत गरी राज्यले औद्योगिक क्षेत्रको विकासमा लगानी वृद्धि गर्नुपर्ने बताउँदै अध्यक्ष नेपालले सरकारले उत्पादनमूलक तथा सेवामूलक क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक रहेको विचार व्यक्त गरे।
मुलुकमा विद्यमान शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलगायत समस्या समाधान गर्न समाजवादले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र समाजवादी शक्तिहरूलाई एकजुट गरी समाजवाद कार्यान्वयन गर्न सकिने बताए।
सामाजिक तथा राजनीतिक समस्या समाधान गर्न समाजवाद उन्मुख अर्थतन्त्रको अवधारणाका आधारमा सामाजिक सुरक्षाको प्रबन्ध, आर्थिक विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले समाजवादको सुन्दर भविष्यका लागि क्रियाशील हुन सबैलाई आग्रह गरे।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले देशमा रोजगारी सृजना गर्न कृषि, पूर्वाधार, औद्योगिक क्षेत्रमा लगानी वृद्धि तथा उत्पादन वृद्धि गर्न समाजवादको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।
