निर्मला कटुवाल क्षेत्री
श्रवाण ३०, आफ्नै गृह जिल्ला म्याग्दी, पूर्वी रुकुम र बागलुङमा फैलिएको प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन पुग्ने मनमा तीव्र इच्छा भएर पनि खोई किन हो, अहिलेसम्म मेसो मिलेको थिएन । दुई दिनमा घुमेर फर्कने कुराबाट सुरु भएको ढोरपाटन घुम्ने योजना यसपटक भने ६ दिनसम्म ढोरपाटनमै घुुम्ने र बुकीपाटनसम्मको पदयात्रामा रमाउने अविस्मरणीय संयोग नै जुर्यो ।
समुन्द्री सतहदेखि ३९ सय मिटरभन्दा माथिको उचाइमा नपुगेको म यसपालि बुकी पदयात्राको अन्तिम गन्तव्य जाल्पाताल करिब ४५ सय मिटरमा छ भन्ने पूर्व जानकारी भएपश्चात् नै मनमा लेक लागेर यात्रा कष्टकर हुने त होइन भन्ने अनिश्चितताको बादल मडारिएर डेरा जमाएको थियो । तैपनि मनमा भरिएको कौतुहलता र उत्साहले गर्दा मैले जसरी पनि तालसम्मै पुग्ने सक्दो प्रयास गर्ने अठोट गरेकी थिएँ । यो यात्रामा म सँगै सहयात्री थिए, बहिनी प्रतिक्षा र उनका साथीहरु । आरक्षको बारेमा धेरै सुनेको र पुस्तकमा पढेको अनि सामाजिक सञ्जालहरुमा समेत देखेको हुँदा मनमा पुग्ने तीव्र इच्छा जागेको लामो समयपछि अन्ततः साइत जुर्यो साउनको दोस्रो हप्ता, ढोरपाटन पुग्ने ।

पहिलो दिन हामी जीप चढेर बागलुङदेखि बुर्तिबाङसम्म पुग्याै । बुर्तिबाङबाट जीप फेरेर बोबाङ हुँदै कच्ची सडकका खाल्डाखुल्डी छिचोलेर छेउमा बगिरहेको भुजीखोलाको सुस्केरा सुन्दै ढोरपाटनसम्म यात्रा ग¥यौं । बुर्तिबाङबाट हामी ढोरपाटनसम्म पुग्दा तल बाटोमै अँध्यारो भैसकेको थियो । त्यो दिन जीपको झ्यालबाट बाहिर हेर्दा निष्पट्ट अध्याँरोबाहेक ढोरपाटनको अरु प्राकृतिक दृश्यावलोकन गर्न पाएनौं । ढोरपाटन पुगेर सामुदायिक होमस्टेमा बास बस्यौँ । त्यहाँ हामी पुग्नुभन्दा पहिला नै बुकीपाटनको पदयात्रामा सामेल हुन आइपुगेका रुकुम, रोल्पा, तनहुँ, कास्की, काठमाडा,ैं दोलखा र तेह्रथुमसहित विभिन्न ११ जिल्लाका पदयात्रीहरु पुगिसकेका थिए । निरन्तरको झरी र बादलमा दिनभर यात्राको थकान भए पनि भोलिपल्ट बिहानै सुरु हुने बुकीपाटनतर्फको यात्राको उत्साहले भने थकानलाई दूर गराइरहेको थियो ।
भोलिपल्ट बिहान जब विस्तारामा आँखा खुलेपछि बाहिर निस्किएर ढोरपाटनलाई नियाल्न मन लाग्यो । मेरा आँखाले पहिलोपटक ढोरपाटनसँग साक्षात्कार गर्दै थिए । हत्तपत्त बाहिर निस्केर हेर्दा लाग्यो, ‘यो कुनै चित्रकारले कोरेर रङ्ग्याएको विशाल क्यानभास हो ।’ माथिमाथि बादलको सेता थुम्काहरु, तल हरिया र नाङ्गा पहाडहरु, त्यसपछि धुपि, सल्ला र लालिगुराँसको जङ्गल, लहरै बसाइएका मानव वस्तीहरु, छिनछिनमा लुकामारी खेलिरहने कुहिरो अनि ढोरपाटनको आँगनमा फूलिरहेका राता, पहेँला र गुलाबी रङका सुन्दर बुकीका फूलहरु । ढकमक्क बुकी फुलेको पाटनमा चरिरहेका सेता खैरा घोडाहरु अनि प्रकृतिको त्यो अनुपम सुन्दरतामा मोहित भएका हामी मान्छेहरु, यो सुन्दर दृश्य हेर्दा लाग्थ्यो प्रकृति पनि आफ्नो सुन्दरतामा आफै मन्त्रमुग्ध छ ।

बिहानदेखिको निरन्तर झरीले पूर्व निर्धारित समयभन्दा केही ढिलो गरी बुकीपाटनतर्फ हिँड्यौ । झरीलाई छेक्न रेनकोट लगाएर मनभरी उत्साह र उमङ्ग भरेर पदयात्राको पहिलो गन्तव्य गार्पाछेर्डा पुग्न ढोरपाटन उपत्यकालाई छोडेर हामी उकालो बाटो लाग्यौं । छेउमा कलकल बगिरहेको निश्चल खोलाको सुस्केरा अनि लालिगुराँस, धुपि, सल्ला र चमाली रुखका जङ्गलहरु नियाल्दै उकालो निरन्तर चढिरह्यौं । बाटोमा फिरन्ते साथीहरुको दोहोरीका टुक्काले कहाँ हान्थ्यो–हान्थ्यो । बाँसुरीको मन छुने धुनले थकान हराउथ्यो ।
उकालो हिँड्दा हरिया पहाडबाट ओराली झरिरहेको खोलाको सफा चिसो पानी अन्जुलीमा भरेर तिर्खा मेट्दाको त्यो आनन्दले मन तृप्त गराउँथ्यो । अनि खहरेखोला पार गर्न बनाइएका काठका पुलहरु तर्दै नाक ठोक्किने ठाडो उकालोमा हिँड्दा बढिरहेको श्वासको गति नियन्त्रण गर्न सुस्ताउनुको विकल्प थिएन । बल्लबल्ल हाम्रो पहिलो दिनको गन्तव्य ४ हजार मिटरको उचाइमा रहेको गार्पाछेडामा पुग्यौं । गार्पाछेडामा पुग्दा झमक्क साँझ परिसकेको थियो । हामी बस्ने भनिएको गार्पाको गोठ–स्टे पुग्दा सँगै उकालो यात्रा सुरु गरेका साथीहरु यसअघि नै पुगिसकेर पनि मादलको तालमा दोहोरी भाका हाल्न सुरु गरिसकेका थिए । साथीहरु स्वरमा स्वर मिलाउँदै टेन्ट नै उचालौंलाझै गर्थे । त्यँहाको दोहोरीले दिनभरको थकान एकछिनमै भुलाइदियो । गीत गाउन पटक्कै नजान्ने तर गीतको भाव र शब्दले छुने म, ताली मात्रै बजाएर भए पनि गाउने साथीहरुलाई साथ दिएँ ।

मैले जीवनमा पहिलोपटक त्यति उचाइको टेन्टभित्र रात कटाउँदै थिएँ । धेरै साथीहरुको पनि त्यही अनुभव थियो सायद । टेन्टको बसाई र विस्तारै उचाइमा पातलिँदै गएको अक्सिजनले गर्दा श्वासप्रश्वासमा केही समस्या देखिएर मसहित अरु धेरै साथीहरु रातभरी खासै निदाउन सकेनौं । भोलिपल्ट बिहान आँखा खोल्नेबित्तिकै गार्पाछेडाबाट आफ्नै म्याग्दी जिल्लामा अवस्थित धौलागिरी, चुरेन र गूर्जा हिमाल अनि रुकुमको पुथा हिमालको मनमोहक दृश्य आँखै अगाडि देखियो । त्यँहा पनि धेरै परसम्म देखिने हरिया पहाडहरुलाई छिनछिनमा देखाउने र लुकाउने उही कुहिरोको लुकामारी चलिरहेको थियो ।
यात्राको दोस्रो दिनको गन्तव्य थियो, फागुनेधुरी । टिकाधारा हुँदै फागुनेधुरीतिर भेडाका बथानसम्म पुग्न भेडीगोठका दाइहरुले बनाएका पैतालाका डोबहरु पछ्याउदै हामीले यात्रा अगाडि बढायौं । त्यो दिन हामीहरु अझै उचाइमा पुग्दै थियौं । मेरो मनमा उही एउटै शङ्काले डेरा जमाएको थियो, ‘लेक लागेर हिँड्न नसकरे गन्तव्यसम्म पुग्न नसकिने पो हो की ?’ यात्रामा हाम्रो समूह ४१ जनाको थियो । उकालोमा हिँड्न धेरै गाह्रो हुनेमध्ये एक थिएँ म । तैपनि मेरो मनमा अठोट भनौ वा अचम्मको मुर्खतापन थियो, जति असहज भए पनि गन्तव्यमा पुगेरै फर्किनुपर्छ अनि पो यात्राको आनन्द महसुस हुन्छ । सबै पदयात्रीलाई फुर्से देउरालीको उकालो चढ्दा निकै सास्ती भैरहेको थियो । सबै लामो–लामो श्वास तान्दै कछुुवाको गतिमा उकालो चढिरहेका थिए, मेरो हालत अरुको भन्दन झन् खराब थियो । म झोला बिसाएर मुटुको धड्कन र श्वासको गति सन्तुलित गर्दै थिए । त्यहीबेला खै, को हाम्रो समुहभन्दा बाहिरको त्यही देउरालीको उकालोमा हिँड्दै गरेकोे एकजना अपरिचित दाइले मेरो झोला बोकिदिने प्रस्ताव गर्नुभयो । सुरुमा त त्यस्तो अप्ठयारोमा अरुलाई कसरी आफ्नो झोला बोक्न दिनु र जस्तो लाग्यो । तर उहाँले दया भावले ‘मलाई केही ग्राहो हुँदैन, यस्तो उकालोमा हिड्ने मेरो बानी परिसकेको छ, झोला दिनुहोस् बहिनी म लगिदिन्छु केही अप्ठेरो मान्नुपर्दैैन’ भनेपछि मैले आफूलाई भैरहेको गाह्रो सम्झेर देउराली निस्कदासम्मलाई भनी झोला बोक्न दिएँ, अनि त्यो नाम थाहा नभएका दाइलाई हृदयको गहिराइबाट धन्यवाद र कृतज्ञता व्यक्त गरेँ । हाम्रो पदयात्रालाई सुरुदेखि नै सहज बनाइरहनुभएका ढोरपाटन शिकार आरक्षमा कार्यरत पदम दाइले फुर्से देउराली उकालो काटिसकेपछि त्यो अप्ठ्यारो उकालो हिँडेर पार गरेको मान्छेको स्वास्थ्य अवस्था ठीक छ भन्ने आँकलन गरी कम्तीमा पनि ६ महिना फुर्से देउरालीको उकालो काटेको मान्छे मर्दैनन् भन्ने बुढापाकाको भनाइ रहेको स्मरण गराउनुभयो ।

जसोतसो उकालो काटेर फुर्से देउरालीमा केहीबेर सुस्तायौं । त्यसपछि पाइला मोडियो टिकाधारातर्फ, बाटो अलि सहज थियो । पदमार्गको तलमाथि फूलेका थरीथरीका बुकी फूलहरु, वरपर देखिएका मनमोहक दृश्यले केही छिन अघिको फुर्से देउरालीको उकालो चढ्दाको सास्ती बिर्साइदियो । जति–जति पाइलाहरु अघि बढ्थे, मुटुको गति पनि त्यति नै छिटो बढिरहेको हुन्थ्यो । फेरि आँखा अगाडि देखिने मनमोहक दृश्यले सबै दुःख भुलाउथ्यो । प्रकृतिले आफ्नो सुन्दरता एकै ठाँउमा ल्याएर पोखेजस्तो लाग्ने त्यो ठाँउ स्वर्ग भन्दा कँहा कम थियो र ? मरेपछि देखिने स्वर्ग खै कस्तो पो हुन्छ, तर त्यहाँ जिँउदै स्वर्गको छेउछाउमा पुगे जस्तो अनुभुति भैरहको थियो । टिकाधारामा पुगेपछि प्राकृतिक सुन्दरताले मन झनै आनन्दित बनायो । हरिया पहाडमा सुन्दर बुकी फूलमा चरिरहेका सेता भेडाका बथानको दृश्य शब्दमा उतार्न नसकिने थियो । केहीबेर त्यही दृश्यमा हरायौं । छिनछिनमा हुँइकिएर आएको कुहिरोले हामीलाई ढपक्कै ढाकिदिन्थ्यो । टिकाधाराको सौन्र्दयतामा रमाएपछि हाम्रो बाटो सोझियौं फागुनेधुरीतर्फ । फागुनेधुरी पुग्नलाई अघि हिँडेको बाटो फुस्रे देउराली हुँदै फर्कनुपर्नेरहेछ । फेरी फुस्रे देउरालीबाट हरियो पहाडमा चरिरहेका सेता भेडाका बथानहरु हेर्दै यात्रा अघि बढ्यो ।

बुकीपाटनमा थरीथरीका रङमा सजिएका फूलहरु हेर्दै हामी त्यो दिनको गन्तव्य झन्डै ४३ सय ५० मिटरमा रहेको फागुनेधुरीमा पुग्यौ । बढिरहेको चिसो, झन्झन् पातलो हुँदै गएको अक्सिजनको मात्रा । दिनभरीको हिँडाइको थकान र झिमझिम परिरहेको साउने झरिले शरिर पुरै कठ्याङग्रिएको थियो । म त्यही नजिकको ठूलो ढुङ्गामा झोलाबाट स्लिपिङ व्याग झिकेर सिरानी हाल्दै पछ्यौरी ओढेर आराम गर्न पल्टिएँ । अरु नजिकै अलि समथर ठाउँ खोजेर त्यो रातको बसाई व्यवस्थापन गर्न टेन्ट बनाउने तयारीमा लागे । अघि टीकाधाराबाट डो¥याउदै ल्याएको एउटा भेडा काटेर साँझ र भोलि बिहानको खानाको लागि बन्दोवस्त हुँदै थियो । हाम्रो टोली त्यँहा पुग्नेबित्तिकै नजिकका भेडीगोठका दाइहरु घर साँझमा आइपुगेका पाहुनालाई स्वागत गर्न आए जसरी आँखामा आतित्थ्य भाव बोकेर आइपुग्नुभयो । भेडीगोठका दाइहरुले धेरै तलबाट बोकेर ल्याइएका चमालीका दाउराहरु उपहार दिएर आगो ताप्ने बन्दोबस्त मिलाइदिनुभयो । हाम्रो बसाई व्यवस्थापन सहज बनाउन तनमनले लागेका भेडीगोठका दाइहरु टेन्ट लगाउनेदेखि खाना पकाउन र कुनै टेन्टमा पानी चुहिएर बसाई असहज भैरहेका साथीहरुलाई उहाँहरुकै गोठमा सहजै बास दिएर सहयोग गर्नुभयो । कति निश्चल, कति सरल, अनि करुणा र स्नेहले भरिएको थियो ती दाइहरुको व्यवहार । दिउँसो ढुङ्गामा पल्टिएर घरी निलो आकाशमा मडारिएको सेतो बादल हेर्दै घरि परपर बुकीमा चरिरहेका सेता भेडाका बथान हेर्दै वरिपरी सहयोग गरिरहेका भेडीगोठका दाइहरुलाई हेर्दै आफैसित मनोवाद गरेँ, मनमा इच्छा भएपछि जस्तोसुकै असजतामा पनि मानवताको धर्म निभाउन सकिनेरहेछ । आधुनिक जीवनशैली, भौतिक सुख सुविधा र प्रविधिको प्रयोग तथा आर्थिक सम्पन्नताले जीवन सहज र पूर्ण हुन्छ भन्ने भ्रममा बाँचेका हामीहरुलाई तीनै सुविधा र सहजताले मानिसमा हुनुपर्ने आधारभूत मानवीय गुणहरु अलग्याएर स्वार्थी र आत्मकेन्द्रीत बनाइरहेको अनुभूति भयो । जीवनमा पहिलोपटक भेटिएका र सायद फेरी कहिल्यै नभेटिने ती भेडीगोठका दाइहरुले मलाई स्नातकोत्तर अध्ययन गर्दासम्म कतै पुस्तकमा नपढेको मानवताको धर्म निभाउने जीवनोपयोगी पाठहरु सिकाउनुभयो । यति सोच्दासोच्दै हामीहरु खाना खाएर रातको १० बजेपछि सुत्नको लागि टेन्टभित्र पस्यौं । तर अघिल्लो रात जस्तै गरी राम्रोसँग निद्रा लागेन । छेउछेउका साथीहरुको टेन्टबाट सुमधुर स्वरमा मादल र बाँसुरीको धुन मिसिएर फागुनेधुरीमा ठोकिन्थ्यो । बेलाबेलामा गुञ्जिने हाँसोका लहरले फागुने धुरीको पहाड नै गुन्जायमान भैरहेको थियो ।

भोलिपल्ट हामी पदयात्राको अन्तिम गन्तव्य जाल्पाताल पुग्नु थियो । त्यो दिन ४७ सय मिटरको उचाइमा पुगेर ४५ सय मिटरमा रहेको तालमा पुग्न पmेरी तल ओर्लनुपर्ने थियो । स्वभाविक रुपले माथि उक्लिँदा बढिरहेको चिसो र उचाइले यात्रा झन्झन् कष्टकर हुँदै थियो । अत्यधिक चिसो र लगातारको हिँडाइले शरिर पुरैे गलिसकेको थियो । प्रत्येक पटक मुटु धड्किएको आवाज बाहिरै सुनिए जस्तो लाग्थ्यो, तर प्रकृतिले हृदय खोलेर हामीलाई न्यानो स्वागत गर्न पर्खिरहेको जस्तै लाग्ने त्यँहाको अलौकिक दृश्यले लोभ्याएर मोहनी लगाउँदै अझ उकालो चढ्न मनमा ऊर्जा थपिरहेको थियो । त्यति बेलासम्म विभिन्न जिल्ल्लाबाट संयोगवश अस्ति मात्र भेटिएका पहिलो दिनका अपरिचित लाग्ने अनुहारहरु आत्मीय भैसकेका थिए । गीत गाएर, नाँचेर, ख्यालठट्टा र हाँसो गर्दै होस् वा साथीभाइका सरसामान बोक्न सहयोग गरेर होस, सबै निकट र आत्मीय भैरहेका थियौं । त्यस्तो कठिन यात्रा पनि तिनै सुन्दर फूलरुपी मन भएका सारथीको साथले धेरै नै सहज भयो । प्रकृतिको सुन्दरतामा रमाउन जानेका मान्छेहरुको हृदय पनि प्रेम र करुणा भरिएको हुनेरहेछ ।
भोलिपल्ट बिहानै जाल्पातालको यात्रामा निस्कियौं । पुग्नुपर्ने निकै टाढा थियो । उस्तै उकालो बाटो । दुईतीन घन्टा उकालो हिँडेर फागुनेधुरीको टुप्पोमा पुगेर सिस्नेलगायत सुन्दर हिमालहरु नियाल्यौं । त्यहाँबाट केही पर पुगेपछि जाल्पाताल ठयाक्कै कहाँ हो भन्नेमा अन्यौल भयो । केही स्थानीय भेडीगोठका दाइबाहेक अरु जाल्पाताल नपुगेको खबर सुन्यौं । हामीसँगै तालसम्मको बाटो देखाउन जानुभएका स्थानीयलाई पनि पुग्ने पुरै बाटोको बारेमा जानकारी रहेनछ । फागुनेधुरी भन्दामाथि पुग्नै हामीलाई तीन घण्टाभन्दा बढी समय लाग्यो । त्यँहा पुगेर हामी दोधारमा परेका थियौं बाटो पत्ता नलागेर । त्यहाँबाट अझै ताल पुग्न दुई घण्टा लाग्ने भनिएको थियो । दुई घण्टा समय लाग्ने सुन्नेबित्तिकै र यात्रामा हुन सक्ने सम्भावित जोखिम र असहजतालाई आँकलन गरी केही साथीहरु त्यहीबाट फर्कने निधोमा पुगे । म भने दुई घण्टा लागे पनि तालसम्म जसरी पनि पुग्ने विचारमा अडिग बने ।

उकालोमा एकजना हामीलाई बाटो देखाउन हिँडेका भेडीगोठका दाइले ‘त्यो परको ठाउँ चिहान हो, एकजना विदेशी जाल्पाताल जाँदा बाटोमै लेक लागेर मृत्यृ भएपछि गाडेको हो’ भन्नुभयो । यो कुरा सुनिसकेपछि मेरो मन एकै छिन डरले झस्कियो । यँहा म वा अरु कसैलाई लेक लागेर केही भइहाल्यो भने तत्काल कसरी आपतकालीन उद्धार गर्ने ? बल्ल पो याद आयो । हाम्रो समूहमा वाकीटकी बोकेका साथीहरु तलबाट नै ताल नजाने निर्णय गरी फर्किसकेका थिए । त्यँहाबाट फोन सम्पर्क हुन्थेन, कहीँ कतै पनि । तत्कालै लेक लागेर समस्या आएमा जसलाई जे पनि हुने सक्ने प्रबल सम्भावना थियो । त्यतिबेला मेरो वरिपरीका साथीहरुलाई हेर्दा मनमा लाग्यो, जाल्पाताल पुग्न आँटेका हामीहरु अलि बढी नै मुर्ख पो भयौ कि ? यतिबेला मनमा जहाँसम्म सक्छु त्यहीँसम्म पुग्छु र हिँड्न नसके तल झरौँला भन्ने भयो । अब आइलाग्ने भवितव्यको सामना गर्न हामीसँग एउटै उपाय थियो, बाटोमा कसैलाई केही नहोस् भनेर भगवानसित प्रार्थना गर्ने मात्र । फागुनेधुरीको टुप्पोमा सुस्ताउँदै गर्दा मेरो मनले एकपटक भगवानलाई सम्झियो ।
यहाँबाट हामीहरु ठाडै ओरालो भीरको बाटो झ¥यौं । केही तल पुगेपछि साथीहरुले पानी बगिरहेको खोला देखेपछि यही खोलाको मुहानमा ताल हुन सक्ने आँकलन अनुसार यात्रा अगाडि बढ्यो । म सुन्दर फूलै फूलको बीचको बाटो हिँड्दै प्रकृतिको सुन्दरतामा हराएँ । स्वाँ–स्वाँ गर्दै लठ्ठीको सहारामा विस्तारै कछुवाको गतिमा पाइला अगाडि बढाइरहेँ । छिनछिनमा कुहिरोले छोपेर आफ्नो नजिक हिँडिरहेका साथीहरुलाई पनि देख्न नसकिने बनाइदिन्थ्यो । फेरी छिनभरमै कुहिरो हराएर आँखाले धित नमरुन्जेल परसम्मको दृश्य आँखामा ठोकिन्थ्यो । तीन दिनदेखि इन्टरनेट र फोन सम्पर्कबाट टाढा भएका हामीहरु एउटा डाँडोमा पुगेर चिच्चाएर पछाडि आउँदै गरेका साथीहरुलाई बाटोको सङ्केत दिने ग¥यौँ ।

अहिलेसम्म केही स्थानीय भेडा गोठालाबाहेक अरु जाल्पाताल नपुगेको जानकारी पाएकाले हामीहरु जँहासम्म सक्छौं त्यहाँसम्म पुगौं, अनि नसके तल झरौँला भन्दै स्वा–स्वा गर्दै लामो–लामो श्वास लिएर लठ्ठीको सहारामा विस्तारै पाइला सार्दै बल्लबल्ल जाल्पातालमा पुग्यौं । हाम्रो अनुमानले पनि मेल खायो, त्यही बगिरहेको खोला जाल्पातालबाटै आएको रहेछ । हाम्रो टोलीलाई बिहानैदेखि हौसला दिँदै माथि उकाल्ने ढोरपाटनकै स्थानीय जीवन दाइ हुनुहुन्थ्थो । बाटोभरी हिँड्न नसक्नेलाई डो¥याएर हुन्छ वा फतक्क गलेका गोडालाई अघि बढ्ने आँट भरेर हुन्छ, उँहाले मेरो यात्रालाई धेरै सहज र सफल बनाइदिनुभयो । जाल्पातालको छेउमा गोठ र ढुङ्गाको मन्दिर रहेछ । माथितिर सुन्दर पहाड र वरिपरी फूलेका थरीथरीका फूलहरुको बीचमा शान्त जाल्पाताल अवस्थित थियो । लहरै ढकमक्क फूलका ती बेनामका बुकी फूलहरुसित एक झलकमै आत्मीयता गाँसियो ।
कृतिमताको कुनै एक झल्को नदिने ती सुन्दर फूलहरुलाई न गोडमेल गर्ने माली छ । न त सिँचाइ गर्ने कुनै व्यवस्था । लाग्थ्यो फूल रोपेर त्यसको सुन्दरता र सुगन्ध फैलाउन प्रकृति आफैले समय निकालिरहेको छ अनि मेहनत गरिरहेको छ । यात्राभरी देखिएको प्रकृतिको सुन्दरता र अन्तिम गन्तव्य जाल्पातालसम्म पुग्दा मन खुसीले प्रफूल्लित भयो । मनमा खुसीको त सीमा नै थिएन । आफ्नै आँखाले देखेर फर्किंदा पनि सपनामा पुगेको पो हो कि जस्तो लाग्ने त्यो क्षेत्रको प्राकृतिक सुन्दरताले मन पुरै भरिपूर्ण गराइदियो । अपरिचित मान्छेहरुले यात्रामा गरेको सहयोग र आत्मीयताको भावले मानवता अझै बाँकी छ भन्ने आभाष गरायो । तीन दिनसम्मको निरन्तर पदयात्राले माथिमाथि उचाइमा उक्लिएर धेरै कष्टपूर्ण यात्राका साथ गन्तव्य पछ्याइरहेका हामीहरुलाई जाल्पातालको सुन्दर दृश्यावलोकन गरिसकेपछि फेरी तल ढोरपाटन फर्किनुपर्ने थियो । ढोरपाटनले जसरी आफ्नो काखमा आतिथ्यताको भावमा बुकीफूलले स्वागत गरेको थियो, त्यसैगरी हामीलाई ताल वरीपरीका र बाटोका बुकी फूलहरुले हार्दिकताका साथ विदाई गर्न लागिरहेका थिए ।

बिहान ७ बजे हिँडेर तालमा पुगेर बास बसेको ठाउँ फागुनेधुरी फर्कंदा दिउँसोको साढे ४ बजिसकेको थियो । गन्तव्यमा पुगेर फर्कंदा मनलाई अपार आनन्द भैरहेको थियो । तर शरिरको कुनै ठाउँ बाँकी थिएन होला नदुखेको, त्यसमाथि अब झोला बोकेर तल पुग्न सक्छु जस्तो मलाई लागेन । दिनभरी झरीमा भिज्दै लेकको चिसोमा हिँडेका हामीहरुलाई अनिदो, थकान, भोक र चिसोले शरिरको ऊर्जा नै रित्तिएको थियो । सबैलाई कसरी तल ढोरपाटनसम्म पुग्ने भन्ने मात्र चिन्ता थियो । एकपटक त बोकेको झोला पनि त्यहीँ बाटोमा मिल्काएर हिँड्न मन लाग्यो मलाई, पहिला मान्छे हिँड्न सके पो झोला बोकेर ओरालो लाग्नु । यसैबेला पदम दाइले मेरो झोला घोडामा हाल्ने व्यवस्था गर्नुभयो । अब झोला बोक्न नपरेपछि म ओरालोमा त विस्तारै–विस्तारै भए पनि हिँड्न सकिहाल्छु भन्ने लाग्यो । दिनभरीको सिमसिमे पानीले रेनकोटबाट पनि भित्रसम्मै लुगा चिसो हुने गरी निथु्रक्क भिजाएको थियो । बाटो पुरै ओरालो, साँघुरो र चिप्लो थियो । जसरी भए पनि ढोरपाटन नपुगिकन बीच बाटोमा बस्न मिल्ने ठाँउ कतै थिएन । त्यसैले ओरालोमा हामीहरु प्रत्येक पाइला समालिएर टेक्दै र विश्राम गर्दै माथिका नाङ्गा पहाडहरु, बुट्यान, झाडी र चरनखर्क छोडेर तलतिर झरिरहेका थियौ । चमाली रुखको जङ्गल छोडेर लालीगुराँसका जङ्गल क्षेत्रमा आइपुग्दासम्म जुत्ताभित्र खुट्टामा जुकाहरु सलबलाउन लागे, तर ती जुका टिपेर पmाल्ने आँट आएन । बल्लतल्ल रातको ९ बजेतिर भुजीखोेलामा आइपुगियो । केहीबेर कुरेपछि हामीलाई पाखाथरमा रहेको होमस्टेसम्म पु¥याउन जीप आइपुग्यो । मेरो अनुहार चिसोले पुरै सुन्निएको थियो । होमस्टेमा आगो ताप्दै हातखुट्टा र अनुहारमा तोरीको तेल लगाएर खाना खाएर सुत्दा रातको १ बजिसकेको थियो । भोलिपल्ट बिहान हाम्रो यात्राका धेरै साथीहरु आ–आफ्नो गन्तव्यमा लागे । आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी मलाई एक दिन आराम गरेर फर्कन उपयुक्त लाग्यो । मेरो यो कुरामा प्रतिक्षा बहिनी पनि सहमत भइन् । अनि हामी त्यो दिन प्रतिक्षा र म मात्रै घोडामा चढेर ढोरपाटनका बुकी फूलहरुसँग खुब रमायौं ।

यो यात्राभरी मसँगै हिँडिरहेकी प्रतीक्षासँग फर्कने बेलासम्म झनै आत्मीयता झाङ्गीयो । यो यात्रा सुरु गर्नुभन्दा अघि औपचारिक सम्बन्ध मिस भनेर ढोरपाटनसम्म पुगेका हामीहरु फर्कंदासम्म आत्मीय साथी जस्तै बनेका थियौं । उनीसँग कार्यालयको औपचारिक चिनजान अब बहिनीमा रुपान्तरण भयो । अन्र्तमुखी स्वभावकी प्रतिक्षाको सहयोगी र सरल व्यवहारबाट म पनि प्रभावित भएँ । अर्को दिन बिहानै हामीलाई लिन होमस्टेमै जीप आइपुग्यो । ढोरबराह मन्दिरको दर्शन गरी उही भुजीखोलाको किनार भएर बुर्तिबाङसम्म पुग्यौं । र त्यहाँबाट फ्mेरी अर्को जीपमा हामीहरु बागलुङ आइपुग्यौ ।
सधैँ काम र जिम्मेवारीले बाँधेका हामीहरुलाई मनभरीको पिर, चिन्ता र दैनिक भागदौड बिर्साएर प्रकृतिले मनलाई सिमलको भुवा जसरी हलुका बनाइदियो । केही दिन सबै कुरा बिर्सिएर प्रकृतिलाई अङ्कमाल गरी उसकै काखमा आफूलाई बिर्सेर हराउनु जत्तिको आनन्द अरु कुनै चिजमा छैन । यो यात्राले जतिसुकै अप्ठ्यारो किन नहोस् धैर्यता र आत्मविश्वासले अझ उचाइमा पुग्न सकिन्छ भन्ने पाठ सिकायो । केही दिनका लागि व्यस्त दैनिकी र सामाजिक सञ्जालको कोलाहलबाट टाढिएर प्रकृतिको काखमा हराउन पाउँदा मनमा अनन्त खुसी, सकारात्मक ऊर्जा र आत्मालाई पूर्ण रुपमा शान्तिले भरिदियो । भौतिक सुख, सुविधा, सहजता र प्रविधिको प्रयोगलाई आफ्नो खुसी मान्ने हाम्रो पुस्तालाई वास्तविक मनको शान्तिसँगै खुसी प्रकृतिको सामिप्यतामा भेटिन्छ भन्ने कुराको मनन् भयो । अरुलाई गरेको सानोभन्दा सानो सहयोग पनि फेसबुकमा पोस्ट्याउन हतार भैहाल्ने हामीहरु भेडासँगै जीवन बिताइरहनुभएका भेडीगोठका दाइहरुले नबोलेरै भए पनि आफ्नो फराकिलो हृदयले असहज परिस्थितिका बाबजुद पनि साँचो मानवताको धर्म निभाउन सकिन्छ भन्ने पाठ सिकाएर नतमस्तक बनाउनुभयो ।

यो एक हप्ताको यात्रालाई स्मरण गरेर शब्दमा उतार्दा हृदयले गरेको प्रकृतिको स्पर्श र शरिरले महसुस गरेको दुःख, आत्मामा सिञ्चित भएको शान्तिको वर्णन अझै अपुग भएको जस्तो अनुभूति भैरहेको छ । यात्राको क्रममा प्रविधियुक्त क्यामेरामा पुरै दृश्यहरु कैद गर्न नसकिएका ढोरपाटन र बुकीपाटनका सुन्दर तथा मनमोहक दृश्यहरु मेरो अन्तर्मनको पर्दामा सधैँ डेरा जमाएर बसिरहने छन् । मेरो लागि ढोरपाटन यात्रा मन, शरिर, आत्मा र प्रकृतिको अस्तित्व आत्मबोध गर्ने एउटा सशक्त माध्यम बन्यो । मैले यात्रामा अनुभव गरेका कति भावहरुलाई व्यक्त गर्नलाई शब्दहरु भेट्टाउनै सकिन । केही अनुभूतिहरु यस्ता थिए कि जुन मनले मात्र महसुस गर्न सक्छ । हजार शब्द खर्च गरेर पनि त्यो भावको वर्णन अधुरो नै हुन्छ । त्यसैले, समग्रमा यो यात्रा कठिनाइ र अपार आनन्दको मीठो संयोजन थियो, जुन यसअघि गरेको यात्राले कहिल्यै पनि त्यस्तो महसुस गराउन सकेको थिएन ।
लेखक क्षत्री, निजामती सेवा अन्तर्गत काठेखोला गाँउपालिका बागलुङ कृषि शाखामा कार्यरत हुनुहुन्छ ।