संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आइरहेका गाउँपालिका र नगरपालिकामा विहीबार देखि प्रमुख प्रशासकिय अधिकृत खटाए सँगै निमित्त प्रप्रअको जिम्मेवारी शुन्य भएको छ।

मन्त्रालयको यस निर्णयसँगै अब देशभरका सबै गाउपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकिय अधिकृत राख्ने परम्परा अन्त्य भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले विहीबार देखि नै सबै गाउपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकिय अधिकृत राख्ने पद्धति अन्त्य गरिएको र दरबन्दि अनुसारका प्रमुख प्रशासकिय अधिकृत खटाइएको जानकारी सामाजिक सञ्जालमा उलेख्ख गरेकी छिन ।
अर्को चरणमा उपमहानगरपालिका र महानगरपालिकामा पनि निमित्त रहेकाहरुलाई हटाएर कन्फर्म प्रमुख प्रशासकिय अधिकृत खटाउने कार्य भैरहेको न्यौपानेको भनाइ छ ।यस कदमसँगै स्थानीय तहमा सुशासन कायम हुने र सेवा प्रवाह प्रभावकारी हुने देखिएको छ । मन्त्रालयले देशभरका १०५ नगरपालिका र ८६ गाउँपालिकामा कन्फर्म प्रमुख प्रशासकिय अधिकृत खटाएको हो ।
मन्त्री न्यौपानेले विभिन्न महत्वपूर्ण नीतिगत सुधारका कार्यहरू थाल्दै देशभरका ७ सय ५३ वटै स्थानीय तहमा दरबन्दीअनुसारकै प्रमुुख प्रशासकीय अधिकृत राख्ने र निमित्त प्रथा सदाका लागि अन्त्य गर्ने प्रतिवद्धता जनाउँदै आउनुभएको थियो। विभिन्न दवावलाई चिर्दै उहाँले सो प्रतिवद्धता पुरा गरेकी हुन । मन्त्री न्यौपानेले स्थानीय तहमा निमित्तको भरमा प्रशासन सञ्चालन गर्दा ऐन कानुन मिचिनुका साथै विभिन्नखाले विकृति आएको, चेन अफ कमान्ड टुट्ने गरेको, सन्तुलन नमिलेको, काम लगाउने र गर्ने दुवैले हचुवामा काम गर्दा परिणाम आउन नसकी सेवा प्रवाह प्रभावकारी हुन नसकेको निष्कर्षका साथ मन्त्रालयले गाउपालिका र नगरपालिकामा कन्फर्म प्रमुख प्रशासकिय अधिकृत पठाएर निमित्तलाई शून्यमा झारिएको बताएकि छिन ।
मन्त्रालयले दरबन्दि अनुसार प्रमुख प्रशासकिय अधिकृत खटाएको हुँदा यस अघि निमित्तलाई दिइएको आर्थिक वा प्रशासनिक अधिकार स्वत रद्ध भएको जनाएको छ । यससँगै कर्मचारी सरुवामा हुने गरेको विभिन्न चलखेल अन्त्य भएको छ । मन्त्री न्यौपानेले यस ऐतिहासिक कार्यको कार्यान्वयन तथा निरन्तरताका लागि सम्पुर्ण राजनीतिक दल , ट्रेड युनियन, स्थानीय तहका जनप्रतिनिधि तथा सबै कर्मचारीहरुलाई सहयोग गर्न आब्हान समेत गरेकि छिन ।
यससँगै कर्मचारी सरुवामा हुने बाह्य चलखेलको अन्त्य, चक्रिय सरुवा प्रणाली कार्यान्वयनमा सहजता, सुगममा मात्र बस्ने प्रवृत्ति रोकथाम, दुर्गममा समेत सेवाको पहुँच विस्तार, प्रशासनिक न्यायको अनुभूति, सेवा प्रवाहको गति र कार्यकुशलतामा वृद्धि, सुशासन प्रवद्र्धन, साथै जनप्रतिनिधिबाट प्रमुख प्रशासकीय अधिकृत भन्दा व्यक्ति विशेष रोज्ने प्रवृत्ति अन्त्य हुने अपेक्षा गरिएको छ ।
सहसचिव प्रमुख प्रशासकीय अधिकृत हुने मध्ये ९ वटा उपमहानगरपालिका र १ वटा महानगरपालिकामा समेत छिट्टै दरवन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी भईरहेको मन्त्रालयले जनाएको छ । मन्त्री न्यौपानेको यो निर्णय संघीयता कार्यान्वयन, स्थानीय तह सबलीकरण र सुशासन प्रवद्र्धनको लागि कोशेढुंगा सावित हुने दृढ विश्वास गरिएको छ ।
