पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सडकमा पोखिएको नयाँ पुस्ताको अभिव्यक्तिलाई हल्का नलिन सबैलाई आग्रह गरेका छन्।
उनका अनुसार यो आन्दोलन गहिरो राजनीतिक असन्तोषको परिणाम हो, जसले भविष्यमा नयाँ राजनीतिक संरचना निर्माण गर्ने संकेत दिएको छ।
‘नयाँ पुस्ताले उठाएका मुद्दालाई हल्का रूपमा लिनु हुँदैन। यो आन्दोलनले नयाँ युगको सुरुवात गरेको छ’‚ भट्टराईले भने।
नयाँ पुस्ता (जेनजी)भन्नाले सन् १९९७ पछि जन्मेका, सूचना–प्रविधि, सामाजिक सञ्जाल र विश्वव्यापी चेतनासँग हुर्किएका युवालाई बुझिन्छ। यही पुस्ता अहिले भ्रष्टाचार, अवसरविहीनता र असमानताविरुद्ध सडकमा उत्रिएको छ। भट्टराईका अनुसार नयाँ पुस्ताले केवल आन्दोलनमा सीमित नभई वैकल्पिक राजनीतिक संरचना निर्माण गर्ने क्षमता राख्छ।
आन्दोलनबाट आएका नेताहरूले जनताको विश्वास कायम राख्न नसको र जनताको सम्पत्ति दोहन गरेर सत्ताको दुरुपयोग गरेको भट्टराईले आरोप लगाए। यस्तो सम्पत्तिको छानबिन गरी राष्ट्रियकरण गर्नु अपरिहार्य भएको उनको माग छ।
हालै बनेको अन्तरिम सरकारबारे पनि भट्टराईले स्पष्ट पारेका छन्। उनले यो सरकारको भूमिका शान्ति सुव्यवस्था कायम गर्नु, जनधन क्षतिको छानबिन गर्नु र चुनावको तयारी गर्नु मात्र भएको स्पष्ट पारेका छन्।
भट्टराईले रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल सक्षम र योग्य व्यक्तित्व भएको बताए। उनका अनुसार रामेश्वर खनाल आर्थिक प्रशासन‚ कुलमान घिसिङ विद्युत् क्षेत्र र ओमप्रकाश अर्याल कानूनी क्षेत्रमा स्पष्ट दृष्टिकोण भएका पात्र भएको बताए।
नेपालको विद्युत् क्षेत्र लामो समयदेखि सुधारको बाटोमा छ। खासगरी कुलमान घिसिङको नेतृत्वमा भएका उपलब्धिहरूले धेरैलाई आशा जगाएको बताएका छन्। भट्टराईले हालैको डेडिकेटेड लाइन प्रयोग गर्ने उद्योगी व्यवसायीले महसुल अनिवार्य रूपमा तिर्नुपर्ने कुराको खुलेरै समर्थन गरे।
संसदीय प्रणालीले गठबन्धन, दल फुट, लोभ र स्वार्थ मात्र बढाएको छ। त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था ल्याएर मात्र राजनीतिक स्थायित्व सम्भव हुने उनको धारणा छ।
भट्टराईका अनुसार नयाँ पुस्ताले राजनीति केवल सडक आन्दोलनमा सीमित नगरी संस्थागत बनाउनुपर्ने बताए। उनले शहीदहरूको बलिदानलाई खेर जान नदिई नयाँ इतिहास कोर्ने जिम्मेवारी यही पुस्तामाथि आएको बताए।