प्रभुराम शर्मा महारथीमा बढुवा


काठमाडौं भाद्र ०३ । सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधान सेनापति पदमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधान सेनापति पदमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभयो । त्यसैगरी बैठकले भदौ ७ गते सोमबारका दिन पर्ने गाइजात्रामा उपत्यकामा सार्वजनिक बिदा सँगै देशभरका नेवार समुदायका लागि पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यस्तै भदौ १४ गते श्रीकृष्ण जन्मष्टमी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले काठमाडौं– तराई÷मधेश द्रुतमार्ग आयोजनाका लागि आवश्यक रहेका विभिन्न सहायक संरचनाहरुको निर्माण गर्नका लागि मकवानपुर जिल्लाका कालभैरव सामुदायिक वन र गौरीशंकर सामुदायिक वनमा ५.२२ हेक्टर थप वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुखहरु हटाउन स्वीकृति दिने निर्णय पनि गरेको छ ।

त्यसैगरी सहसचिव डिल्लीराम शर्मालाई विशिष्ट श्रेणिमा बढुवा गरेको तथा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले दिनुभएको राजिनामा स्वीकृती गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले बताउनुभयो ।मन्त्रिपरिषद्ले सिँचाइ र ऊर्जा मन्त्रलयका केही बरिष्ठ इन्जिनीयरहरुलाई द्धितिय श्रेणीबाट प्रथम श्रेणिमा बढुवा गरेको पनि उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *