वीरेन्द्रनगर , सुर्खेत – हुलाक सेवालाई समयसापेक्ष, आधुनिक र व्यावसायिक बनाउने उद्देश्यका साथ सुर्खेतको विरेन्द्रनगरमा ‘हुलाक सेवाको व्यवसाय प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ।
हुलाक निर्देशनालय, सुर्खेतको आयोजना तथा हुलाक सेवा विभाग, बबरमहल, काठमाडौँको समन्वयमा आयोजित उक्त कार्यक्रम बुधवार वीरेन्द्नगरमा सञ्चालन गरिएको हो।

कार्यक्रममा हुलाक सेवालाई कसरी प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो। कार्यक्रमको मुख्य उद्देश्य हुलाकका सेवाहरूलाई नागरिकको पहुँचमा थप विस्तार गर्ने र परम्परागत सेवामा सुधार ल्याई व्यावसायिक अवसरहरू सिर्जना गर्नु रहेको आयोजकको भनाइ छ ।
कर्णाली प्रदेश सरकारका प्रतिनिधिहरू, मन्त्रालयका पदाधिकारीहरू र सरोकारवाला निकायका व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रममा वक्ताहरूले वर्तमान डिजिटल युगमा ‘स्मार्ट हुलाक’ (Smart Post Office) को अवधारणा आत्मसात गर्नुपर्नेमा जोड दिएका थिए।

त्यस्तै ‘हुलाक सेवाको व्यवसाय प्रवर्द्धन कार्यक्रम’ लाई सम्बोधन गर्दै कर्णाली प्रदेश प्रमुख सचिव वीरेन्द्र कुमार यादवले हुलाक सेवाको रूपान्तरणका लागि परम्परागत हुलाक सेवालाई अब डिजिटल र आधुनिक प्रणालीमा लैजानुको विकल्प नरहेको बताए।
उनले हुलाक सेवालाई केवल सरकारी चिठी पत्रमा मात्र सीमित नराखी निजी कुरियर सेवाहरूसँग प्रतिस्पर्धा गर्न सक्ने गरी व्यावसायिक बनाउनुपर्ने धारणा राखेका थिए।
यादवले नागरिकको हुलाक प्रतिको जनविश्वास बढाउन र सेवालाई थप छिटो, छरितो र भरपर्दो बनाउन कर्मचारीहरूलाई सक्रिय हुन समेत निर्देशन दिए।
त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै सञ्चार तथा सुचना प्रविधि मन्त्रालय सचिव लक्ष्मी कुमारी बस्नेतले राज्यले अघि सारेको ‘एक स्थानीय तह, एक हुलाक’ को नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तहहरूसँग समन्वय गरि यसले दुर्गमका जनतालाई राज्यको सेवा नजिक ल्याउन पहल गर्नुपर्ने बताएकि छिन । हुलाक सेवालाई पुरानो र परम्परागत शैलीबाट मात्र चलाएर अब सम्भव छैन। यसलाई समयसापेक्ष पुनर्संरचना गरी प्रविधिमैत्री र व्यावसायिक बनाउनु आजको प्रमुख आवश्यकता रहेको उनको भनाइ छ।

आयोजित ‘हुलाक सेवाको व्यवसाय प्रवर्द्धन कार्यक्रम’ का अवसरमा हुलाक सेवाको प्रयोग गरी राज्यको राजश्वमा उल्लेख्य योगदान पुऱ्याउने विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरूलाई सम्मान गरिएको थियो।

हुलाक निर्देशनालय सुर्खेतका सुचना अधिकारी सुनीता खत्रीका अनुसार कार्यक्रममा विशेष गरी हुलाक टिकट, वैदेशिक हुलाक (EMS), र रजिस्ट्री सेवाको बढी प्रयोग गर्ने र सो बापत राजश्व बुझाउने कार्यालयहरूलाई सम्मानित गरिएको थियो।
