
शुक्लाफाँटा नगरपालिका– ७ सिमलफाँटाका किसान प्राङ्गारिक तरकारी उत्पादनमा लागेका छन् । समूहमा आबद्ध ४० मध्ये २१ किसानले रासायनिक मल र विषादीको प्रयोगविना चार बिघा जग्गामा खेती गर्दै आएका छन् ।
घरघरमा प्लाष्टिकका टनेलमा किसानले बोडी, फर्सी, लौका, करेला र काँक्रालगायत तरकारी उत्पादन गरी बजारमा बेच्दै आएका छन् ।
रासायनिक मल र विषादीको विकल्पका रुपमा किसानले तरकारी बालीमा गोठेमलसँगै जैविक मल र विषादीको प्रयोग गर्दै आएका छन् । उनीहरुले स्थानीयस्तरमै पाइने वनस्पतिबाट मल र विषादी बनाई तरकारी बालीमा छर्किंदै आएका छन् ।
दैनिक सिमलफाँटा गाउँबाट मात्रै ७० क्विन्टल प्राङ्गारिक तरकारी बजारमा बेच्नका लागि पठाइने गरिइएको छ । यस्ता किसानले जनही दैनिक रु चार हजार बढीको आम्दानी लिने गरेका छन् । सहजरुपमा तरकारी बेचेको पैसाले परिवारको खर्च धानिँदै आएको छ ।
