सरकारी बजेटबाट बनेका सरंचना दुरूपयोग होइन संरक्षण गर्नुस : मुख्यमन्त्री कँडेल।


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेटबाट बनेका संरचना दुरूपयोग नगरी सबै नागरिकले आफ्नो सम्पत्ति सम्झेर संरक्षण र सदुपयोग गर्नुपर्ने बताएका छन् ।


बराहताल गाउँपालिका–८ नं. वडाको नवनिर्मित वडा कार्यालय भवनको शुभारम्भ गर्दै मुख्यमन्त्री कँडेलले संघ, प्रदेश र स्थानीय तहबाट प्राप्त हुने बजेट र उक्त्त बजेट बाट निर्माण गरिएका भौतिक संरचनाहरू प्रभावकारी रूपमा कार्यान्वयन र संचालन गर्न वडा तहले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका हुन ।

उनले विकास निर्माणका योजनाहरू पारदर्शी र परिणाममुखी ढंगले अघि बढाउन जनप्रतिनिधि तथा स्थानीय समुदायको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
मुख्यमन्त्री कँडेलले अहिले सूचना र प्रविधिको पहुँच व्यापक बनेको भन्दै गाउँको मात्र नभई देशभरका गतिविधि मोबाइलमार्फत सहजै थाहा पाउन सकिने बताए । उनले जनताले सरकारका कामलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै विकासका काम जनतामाझ स्पष्ट रूपमा पुर्‍याउन आवश्यक रहेको धारणा राखे । “काम राम्रो भए जनताले विश्वास गर्छन्,” उनले भने, “जनतामा विश्वास दिलाउन सक्ने गरी काम गर्नुपर्छ ।”
उनले विगतको निर्वाचनको तुलनामा अहिलेको निर्वाचन फरक देखिएको टिप्पणी गर्दै जनताको चेतना र चासो बढेको बताए ।
मुख्यमन्त्री कँडेलले विकासलाई साझा अभियानका रूपमा अघि बढाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।

उनले आफ्नो ठाउँमा बसेर एउटै स्वरका साथ विकासका काममा लाग्न आग्रह गर्दै स्थानीय विकासको जिम्मेवारी स्थानीय नागरिककै काँधमा रहेको बताए । “आफ्नो ठाउँको विकास आफैंले गर्ने हो,” उनले भने, “समय बिताउने कि सम्झनलायक काम गर्ने भन्ने कुरा अब हामीले तय गर्नुपर्छ ।” उनले जसले राम्रो काम गर्छ, त्यसैलाई जनताले अगाडि बढाउने भन्दै जिम्मेवार र जनमुखी कार्यशैली अपनाउन जनप्रतिनिधिहरूलाई आग्रह गरे ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *