१९ असार, सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकाले कर्णाली प्रदेशका अस्पतालमा उपचारत बिरामीका लागि आवश्यक पर्ने रगत निशुल्क व्यवस्था गर्न आर्थिक सहयोग गर्ने भएको छ।
नगरपालिकाको आर्थिक सहयोग र रेडक्रस सोसाईटी सुर्खेतको सम्नवयमा कर्णाली प्रदेशभरबाट प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेत तथा अन्य स्वास्थ्य संस्थाहरूमा उपचारका लागि आउने बिरामीहरूले निःशुल्क रगत सेवा प्राप्त गर्ने भएका हुन ।

आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा विनियोजित बजेट अन्तर्गत वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी शाखा सुर्खेतबीच आज रक्त्त सेवा सम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौताअनुसार नेपाल रेडक्रस सोसाइटी शाखा सुर्खेतद्वारा सञ्चालित ब्लड बैंक मार्फत बिरामीहरूलाई निःशुल्क रगत उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । सम्झौतापत्रमा वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल तथा नेपाल रेडक्रस सोसाइटी शाखा सुर्खेतका सभापति रामलाल आचार्य ले हस्ताक्षर गरेका छन ।
सम्झौतापछि बोल्दै नगरप्रमुख ढकालले स्वास्थ्य सेवामा नागरिकको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताईन । मेयर ढकालले निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था बिरामी र उनीहरूका परिवारका लागि ठूलो राहत बन्ने विश्वास व्यक्त गर्दै आगामी वर्षहरूमा पनि कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छिन ।
कार्यक्रममा प्रदेश अस्पतालका प्रमुख गणेश थापाले नगरपालिकाको यस निर्णयले उपचाररत बिरामीहरूलाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गरे । उनले रगत अभावका कारण उपचारमा हुने समस्या न्यूनीकरण गर्न यो कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए।
यसैवीच रक्तदानको क्षेत्रमा काम गर्दै आइरहेको नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत शाखाले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल र नगरपालिका परिवारलाई धन्यवाद ज्ञापन गरेको थियो ।
