सुर्खेत ,२२ जेठ।
कर्णालीमा विगत ५ वर्षको सरकारी तथ्याङ्कलाई विश्लेषण गर्दा कर्णालीमा एचआईभी परीक्षणको दायरालाई तीव्र रूपमा बढाइएको छ। परीक्षण संख्या बढेपनि नयाँ सङ्क्रमण फेला पर्ने दर (पोजिटिभिटी दर) मा भने क्रमिक रूपमा कमी आएको देखिन्छ।
स्वास्थ्य सेवा निर्देशनालयका आर्थिक वर्ष ०७८/७९ मा ८० जनामा संक्रमण देखिएकोमा चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म ३१ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो आव २०८१/८२ मा ९ हजार २७९ जनाको परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालय कर्णालीका एचआईभी फोकल पर्सन पदमबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार आव ०७९/८० मा ५७ जना र आव ०८०/८१ मा ३८ जनामा संक्रमण देखिएको थियो ।
वीरेन्द्रनगरमा भएको राष्ट्रिय एड्स तथा रोग नियन्त्रण कार्यक्रमतर्फ अन्तरक्रियामा प्रस्तुति राख्दै फोकल पर्सन केसीले प्रदेशका विभिन्न एआरटी केन्द्रमा ७७० जना एचआईभी संक्रमित नियमित उपचारमा रहेको जानकारी दिए । एचआईभी संक्रमितका लागि प्रदेश अस्पताल सुर्खेत, दैलेख अस्पताल, सल्यान अस्पताल, कालिकोट अस्पताल, रुकुम पश्चिम अस्पताल, राकम कर्णाली आधारभूत अस्पताल, सालकोट प्राथमिक स्वास्थ्य केन्द्र, मेहलकुना अस्पताल र दुल्लु अस्पतालबाट उपचार सेवा प्रदान भइरहेको छ । तीमध्ये प्रदेश अस्पताल सुर्खेतमा सबैभन्दा धेरै २९० जना संक्रमित उपचाररत छन् ।
केसीका अनुसार गर्भवती आमाबाट शिशुमा संक्रमण रोक्ने (पीएमटीसीटी) कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा ३३ हजार ७४० गर्भवती महिलाको एचआईभी परीक्षण गरिएको छ, जुन अपेक्षित गर्भवती संख्याको करिब ७९ प्रतिशत हो । परीक्षण गरिएकामध्ये दुई जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा एचआईभी परीक्षणको दायरा विस्तार हुनुका साथै उपचार सेवामा पहुँच पनि बढ्दै गएको उनले बताए ।
संक्रमित आमाबाट शिशुमा संक्रमण सर्ने जोखिम न्यूनीकरण गर्न समयमै परीक्षण, उपचार तथा परामर्श सेवालाई प्राथमिकता दिइएको केसीको भनाइ छ । प्रदेशका एआरटी केन्द्रमार्फत एचआईभी संक्रमित बालबालिकासहित सबै उमेर समूहका संक्रमितलाई निःशुल्क उपचार, औषधि तथा नियमित स्वास्थ्य परामर्श सेवा प्रदान हुँदै आएको छ ।
परीक्षण सम्बन्धी तथ्यांकमा त्रुटि तथा असमानता, सबै गर्भवती महिलाको एचआईभी परीक्षण सुनिश्चित गर्न नसक्नु, उपचार केन्द्रहरूमा परीक्षण किट तथा औषधिको माग–आपूर्तिमा असन्तुलन र संक्रमितप्रति हुने सामाजिक विभेद तथा लाञ्छना कार्यक्रमका प्रमुख चुनौतीका रूपमा रहेको केसीले जानकारी दिए ।
तथ्यांक अनुसार कर्णाली प्रदेशमा एचआईभी संक्रमितमध्ये आर्थिक वर्ष २०७९/८० मा १२, २०८०/८१ मा ११, २०८१/८२ मा ९ र २०८२/८३ मा ६ जनाको मृत्यु भएको उनले बताए ।
कर्णालीमा एचआईभी नियन्त्रण तथा उपचार सेवामा एएचएफ नेपालले समेत सहकार्य गर्दै आएको छ । एएचएफका कार्यक्रम संयोजक संजयकुमार पौडेलका अनुसार सन् २०१८ देखि प्रदेश अस्पताल सुर्खेतस्थित एआरटी क्लिनिकसँग सहकार्य गर्दै संस्थाले संक्रमितको परामर्श, उपचारमा पहुँच वृद्धि, उपचारको निरन्तरता, परीक्षण सेवा विस्तार तथा स्वास्थ्यकर्मीको क्षमता विकासमा सहयोग पुर्याउँदै आएको छ ।
उनका अनुसार एएचएफले परियोजनामार्फत एचआईभी रोकथाम, परीक्षण, उपचार तथा हेरचाह सेवालाई थप प्रभावकारी बनाउन काम गरिरहेको छ । संस्थाले जोखिममा रहेका समुदायमा सचेतना कार्यक्रम, कन्डम वितरण, परीक्षणमा पहुँच विस्तार, संक्रमितलाई उपचार सेवासँग जोड्ने तथा उपचारमा निरन्तरता कायम राख्न आवश्यक सहयोग गर्दै आएको पौडेलले बताए ।
नेपालमा सन् २०२४ को अन्त्यसम्म ३४ हजार ३३७ जना एचआईभी संक्रमित रहेको अनुमान छ । राष्ट्रिय लक्ष्यअनुसार सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने उद्देश्यसहित संक्रमितको पहिचान, उपचार र भाइरल लोड नियन्त्रणमा ९५–९५–९५ लक्ष्य हाँसिल गर्ने अभियान सञ्चालन भइरहेको छ ।
चुनौती कायमै
एचआईभी महामारीको नियन्त्रणका लागि विभिन्न प्रयासहरू भइरहे पनि नयाँ सङ्क्रमण र एड्सका कारण हुने मृत्यु अझै पनि प्रमुख चुनौतीको रूपमा रहेको पाइएको छ। कर्णाली प्रदेशमा एचआईभी संक्रमणको दर पछिल्ला वर्षहरूमा घट्दो क्रममा देखिए पनि नवकिरण प्लस सुर्खेतका अध्यक्ष देवेन्द्र पाठकका अनुसार औषधी उपचारका लागि कर्णालीका विभिन्न जिल्लाबाट सुर्खेत आउने संक्रमितलाई यातायात खर्चको समस्या रहेको बताए । ‘धेरैजसो सुर्खेतकालाई मात्रै दिने गरिएको छ,’ उनले भने, ‘आर्थिक अवस्था कमजोर भएकालाई यातायात खर्च भए सहज हुन्थ्यो ।’
एचआईभी संक्रमितका लागि आयआर्जनको क्षेत्रमा स्थानीय सरकारले बजेट छुट्याएर काम गर्नुपर्ने बताए । ‘धेरैजसो आर्थिक अवस्था कमजोर भएका नै संक्रमित छन्,’ उनले भने, ‘सरकारले त्यस्ता संक्रमितका लागि आयआर्जनका कार्यक्रम ल्याउन जरुरी छ, संक्रमितहरुले क्षमता भएपनि कतिपय प्राइभेट क्षेत्रमा काम पाउन नसकिरहेको अवस्था छ ।’
उनले संक्रमितप्रति समाजमा अझै लाञ्छना र विभेद कायम रहेको, सबै जोखिम समूह परीक्षणको पहुँचमा आउन नसकेको तथा समुदायस्तरमा सचेतना अभिवृद्धिको आवश्यकता रहेको बताए । अध्यक्ष पाठकले एचआईभी संक्रमितलाई समाजमा सम्मानपूर्वक बाँच्ने वातावरण निर्माण गर्न राज्य र समुदाय दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । साथै उनले पोषणयुक्त खानाको उपलब्धतामा पनि सरकारले जोड दिनुपर्ने बताए ।
जुम्ला र मुगुमा सेवा विस्तार गरिँदै
भौगोलिक रूपमा विकट मानिएका कर्णालीका हिमाली जिल्लाका सङ्क्रमितहरूलाई लक्षित गरी सरकारले चालू आर्थिक वर्षभित्रै विशिष्टीकृत सेवाहरू थप गर्ने निर्णय गरेको छ।
जसअनुसार, जुम्लाका एचआईभी सङ्क्रमितहरूलाई सहज रूपमा औषधि उपलब्ध गराउन जनस्वास्थ्य सेवा कार्यालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) सँग समन्वय गरी यसै वर्षभित्र नयाँ एआरटी (ART) सेन्टर स्थापना गर्ने भएको छ। यस्तै, मुगु जिल्लामा स्वास्थ्य सेवा कार्यालय मार्फत तत्काल CD4 काउन्ट मेसिन जडान गरी प्रदेश जनस्वास्थ्य प्रयोगशालाको प्राविधिक सहयोगमा सेवा सुचारु गर्ने निर्णय गरिएको छ।
स्वास्थ्य सेवा निर्देशनालय, सामाजिक विकास मन्त्रालय र साझेदार संस्थाहरूले संयुक्त रूपमा एकीकृत अनुगमन प्रणाली संयन्त्र बनाएर दुर्गम गाउँहरू सम्म एचआईभी रोकथामका कार्यक्रमहरू लैजाने रणनीति तय गरेका स्वास्थ्य निर्देशनालय ले जनाएको छ।
