राष्ट्रिय सभा निर्वाचन : आचारसंहिता लागू


राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएको छ। माघ ११ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले लागि मंगलबारदेखि आचारसंहिता लागू गरेको हो।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) अनुसार आयोगले मंगलबारदेखि माघ १२ गतेसम्म आचारसंहिता लागू हुन लागेको हो। आयोगका अनुसार आचारसंहिताको दफा १ अनुसार सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ।

आचारसंहिता लागू भएपछि अब कुनै पनि सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन, निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन पाइने छैन।

कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अंकित सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने आयोगले जनाएको छ।

आचारसंहिता अनुसार प्रचलित कानुन बमोजिम निषेध गरिएको समय र स्थानमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन पाइँन। यसैगरी सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउन, दुष्प्रचार गर्न, भ्रामक सूचना सम्प्रेषण गर्न, अपमान गर्न, द्वेषपूर्ण भाषण गर्न र भ्रामक टिका टिप्पणी गर्न वा गराउन समेत नपाइने व्यवस्था छ।

आयोगका अनुसार यो अवधिमा निर्वाचन प्रचार प्रसारमा संलग्न हुने नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले आयोगको अनुमति लिई निर्वाचन प्रचार प्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न पाइँदैन। यस्तै मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेल अन्तरक्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल गर्न बन्देज लगाइएको छ।

माघ ११ गते १९ सिटका लागि निर्वाचन हुँदैछ। यसका लागि ५१ उम्मेदवार मैदानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *