नेपालगन्ज उपमहानगरपालिकाले २३ वाटै वडाहरूका किसानलाई सहुलियत दरमा उन्नतजातको धानको विउ वितरण सुरु गरेको छ ।
उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको विउ वितरण कार्य सुरु गरेको छ । बिहिवारदेखि किसानलाई धानको विउ वितरण सुरु गरिएको हो । नगर प्रमुख डा. धवलशम्शेर राणाले विहिबार सुभारम्भ गर्नुभएको कार्यक्रम केही दिनसम्म चल्ने छ ।

१५.७५ मेट्रिक टन धानको विउ वितरण गर्न लागिएको छ । ५० प्रतिशत अनुदान प्राप्त गर्ने भएपछि धानको विउ लिन किसानहरुको लाम लागेको छ । किसानको आवश्यकता अनुसार कम्तिमा ३५ किलोको एक बोरी धानको विउ उपलब्ध गराउने गरिएको छ ।
राधा–४, रामधान, बहुगुणे–२ र सावा मन्सुरी सव वन गरि चार किसिमका धानका विउ वितरण भईरहेको उपमहानगरपालिकाले जनाएको छ ।
