वीरेन्द्रनगर, सुर्खेत ।
कर्णाली प्रदेशमा खेलकुदको विकास र स्थानीय प्रतिभा प्रवर्द्धन गर्ने उद्देश्यका साथ वीरेन्द्रनगरमा “प्रथम मेयर कप फुटबल प्रतियोगिता–२०८३” आयोजना हुने भएको छ।

कर्णाली प्रदेश फुटबल संघको आयोजना तथा वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा यो प्रतियोगिता सञ्चालन हुन लागेको
फुटबल संघले बिहिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
प्रदेश स्तरीय यस ऐतिहासिक प्रतियोगिताको पहिलो संस्करण यही जेठ १५ गतेदेखि २१ गतेसम्म लगातार ६ दिनसम्म चल्ने आयोजक कर्णाली प्रदेश फुटबल संघले जनाएको छ।
उत्त प्रतियोगितामा कर्णाली प्रदेशका कुल १३ वटा पालिकाहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितालाई थप रोचक र प्रतिस्पर्धी बनाउन आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको विजेता टोलीले नगद रु. ४,००,००० (चार लाख) र उपविजेता टोलीले रु. २,००,००० (दुई लाख) पुरस्कार प्राप्त गर्ने संघका अध्यक्ष प्रमोद हमालले जानकारी दिए ।

उनका अनुसार व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूका लागि पुरस्कारको घोषणा गरिएको छ। जसअनुसार ७ वटा फरक विधामा उत्कृष्ट हुने खेलाडीहरूलाई जनही रु. १५,००० का दरले “बेस्ट अवार्ड” प्रदान गरिनेछ। यसैगरी, हरेक खेलको उत्कृष्ट खेलाडीलाई ‘म्यान अफ द म्याच’ बापत नगद रु. २,००० र प्रतियोगिताभर उत्कृष्ट अनुशासन कायम राख्ने टोलीलाई प्रोत्साहन स्वरूप पहिलो पटक रु. १०,००० नगद पुरस्कार दिइने छ।
त्यस्तै प्रतियोगिता सम्पन्न गर्न वीरेन्द्रनगर नगरपालिका, सुर्खेतले रु. १५ लाख बजेट विनियोजन गरेको छ। यसैगरी, सहयोगी संस्था म्याक्स टाइगर इनर्जी ड्रिंकका तर्फबाट रु. १,००,००० आर्थिक सहयोग प्राप्त भएको छ। आयोजकले खेलकुद क्षेत्रलाई स्थानीय व्यापार र अर्थतन्त्रसँग जोड्ने उद्देश्य राखेकाले स्थानीय व्यवसायीहरूबाट समेत थप आर्थिक सहयोगको अपेक्षा गरिएको अध्यक्ष हमालको भनाइ छ।
प्रतियोगितामा सहभागी हुन चाहने प्रत्येक टोलीका लागि टिम दर्ता शुल्क रु. १०,००० तोकिएको छ। पहिलो पटक आयोजना हुन लागेको यस वृहत् खेलकुद महोत्सवलाई भव्य र सफल बनाउन आयोजकले सबै सरोकारवाला, खेलप्रेमी र स्थानीय समुदायसँग आवश्यक समन्वय तथा सहकार्यका लागि आयोजकले अनुरोध समेत गरेको छ।
